काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन वृद्धि, रोजगारी सिर्जना, आर्थिक सुधार र प्रशासनिक पुनर्संरचनालाई केन्द्रमा राखेर बजेट ल्याइएको बताएका हुन् ।
सरकारले कुल विनियोजित बजेटमध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ छुट्याएको छ भने पूँजीगत अर्थात् विकास खर्चका लागि ४ खर्ब ३१ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
त्यसैगरी, वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए ।
बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनतर्फ सरकारले राजस्व संकलनबाट १४ खर्ब ४ अर्ब रुपैयाँ उठाउने लक्ष्य निर्धारण गरेको छ । साथै, वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ र वैदेशिक ऋणमार्फत २ खर्ब ४७ अर्ब रुपैयाँ जुटाइने उल्लेख गरिएको छ ।
राजस्व तथा वैदेशिक सहायता स्रोतबाट अपुग हुने ४ खर्ब १० अर्ब रुपैयाँ भने आन्तरिक ऋणमार्फत व्यवस्थापन गरिने सरकारको योजना रहेको अर्थमन्त्री वाग्लेले बताएका छन् ।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया