काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सत्ता समीकरणका क्रममा कम्युनिस्ट दलहरूसँग सहकार्य गर्दा कांग्रेस आफ्नो मौलिक राजनीतिक चरित्र र मार्गबाट केही हदसम्म विचलित भएको टिप्पणी गरेका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित नेपाल थारू संघको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सत्ता प्राप्तिको यात्रामा कांग्रेस कहिले एमाले त कहिले माओवादीको राजनीतिक शैलीसँग प्रभावित भएको बताए।

advertisement

‘सत्ता प्राप्तिका लागि अघि बढ्दा कहिले एमालेको चालमा ढल्कियौं, कहिले माओवादीको शैलीसँग मिसियौं,’ आङ्देम्बेले भने, ‘यी दुवैको प्रभावमा पर्दा हामीले आफ्नो मौलिक चाल र पहिचान नै बिर्सियौं।’

उनले कांग्रेस अहिले आफ्नो मूल विचार, मूल्य र राजनीतिक मार्गमा फर्किने अभियानमा रहेको उल्लेख गर्दै भ्रातृ संस्थाहरूको अधिवेशन त्यसैको एउटा महत्वपूर्ण कडी भएको बताए।

‘यो अधिवेशन कांग्रेसलाई आफ्नै राजनीतिक मार्गमा फर्काउने अभियानको हिस्सा हो,’ उनले भने, ‘संस्थागत रूपमा पार्टीलाई पुनः आफ्नै विचार, सिद्धान्त र शैलीमा स्थापित गर्ने उद्देश्यका साथ हामी अघि बढिरहेका छौं।’

आङ्देम्बेले नेपाल थारू संघको महाधिवेशनलाई कांग्रेसको नयाँ संकल्प र पुनर्जागरणको शंखघोषका रूपमा समेत व्याख्या गरे। उनले हिमाल, पहाड र तराई–मधेशका सबै नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गर्दै सामाजिक सद्भाव र सहकार्यलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

कांग्रेसले विविध भाषा, संस्कृति, भेषभूषा र समुदायबीचको एकतालाई सुदृढ गर्दै समावेशी राष्ट्र निर्माणको अभियानलाई निरन्तर अघि बढाउने उनको भनाइ थियो।

उनले लोकतान्त्रिक व्यवस्थामा संसद्को गरिमा केवल सांसदको संख्याले निर्धारण नहुने पनि बताए। संसद्को मर्यादा त्यहाँ उठाइने विषय, स्थापित गरिने मूल्य र लोकतान्त्रिक आचरणबाट तय हुने उनको तर्क थियो।

‘लोकतन्त्रमा संख्या मात्र सबैथोक होइन,’ उनले भने, ‘संसद्भित्र उठाइने जनसरोकारका विषय, मर्यादा र जिम्मेवार व्यवहारले नै संसदीय अभ्यासलाई थप सम्मानित र प्रभावकारी बनाउँछ।’

प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com