काठमाडौं। अस्पतालमा उपचाररत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
चिकित्सकहरूले परिवारका सदस्य तथा पार्टीका नेताहरूलाई दिएको जानकारीअनुसार स्वास्थ्यमा सुधार आउने क्रम यसरी नै निरन्तर जारी रहेमा उनलाई भोलि नै अस्पतालबाट डिस्चार्ज गर्न सकिने सम्भावना रहेको छ ।
केही दिनदेखि लगातार ज्वरो आएपछि स्वास्थ्य परीक्षण गर्दा ‘माइल्ड निमोनिया’ देखिएकाले चिकित्सकहरूको विशेष सुझावमा प्रचण्डलाई शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
आज बिहान मात्रै प्रचण्डको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेपाली कम्युनिस्ट पार्टीका नेता माधव सापकोटाले उनको स्वास्थ्यमा राम्रो सुधार भइरहेको पुष्टि गरेका छन् ।
चिकित्सकहरूको भनाइ उद्धृत गर्दै नेता सापकोटाले सुधारको गति हेर्दा भोलिसम्ममा डिस्चार्ज हुनसक्ने जानकारी दिए ।
प्रचण्ड यही जेठ ७ र ८ गते सुदूरपश्चिमस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी भई धनगढीबाट फर्किएलगत्तै अस्वस्थ भएका थिए ।
धनगढीको अत्यधिक गर्मीका कारण पसिनाले कपडा भिजेको र काठमाडौं फर्किएको भोलिपल्टदेखि नै ज्वरो आउन सुरु गरे पनि उनी निरन्तर पार्टीका काममा सक्रिय रहेका थिए ।
पछि स्वास्थ्यमा थप असहजता महसुस भएपछि मात्र उनलाई अस्पताल पुर्याइएको हो ।
यसैबीच, अस्पतालमै पुगेर प्रचण्डलाई भेटेका युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्षको स्वास्थ्य अवस्था सामान्य र सुधारोन्मुख रहेको प्रष्ट पारेका छन् ।
हल्का निमोनिया देखिएकाले अहिले अस्पतालमै राखेर उपचार भइरहेको र भोलिसम्ममा डिस्चार्ज हुने उनले उल्लेख गरेका छन् ।
यसअघि स्वास्थ्य अवस्था अनुकूल नरहेकै कारण प्रचण्ड जेठ १५ गते बजेट सार्वजनिक हुने विशेष दिनमा समेत संघीय संसद्को बैठकमा उपस्थित हुन सकेका थिएनन् ।
प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया