काठमाडौं। काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई आधुनिक, वातावरणमैत्री र यात्रुमैत्री बनाउने लक्ष्यसहित महानगर यातायात प्रालिले आफ्नो सेवामा उल्लेखनीय विस्तार गरेको छ।

कम्पनीले १६ वटा नयाँ अत्याधुनिक विद्युतीय बस सञ्चालनमा ल्याएसँगै चक्रपथ क्षेत्रमा सार्वजनिक यातायात सेवाको क्षमता थप सुदृढ भएको छ।

advertisement

बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएका चिनियाँ प्रविधिमा आधारित ती बसहरू ३३ सिट क्षमताका छन्।

उभिएर यात्रा गर्ने यात्रुसमेतलाई सहज हुने गरी डिजाइन गरिएका बसहरूले एकपटकमा करिब ७० जनासम्म यात्रुलाई सेवा दिन सक्ने कम्पनीले जनाएको छ।

यात्रुको सुरक्षा, सुविधा र आरामलाई ध्यानमा राखेर आधुनिक प्रविधियुक्त प्रणाली जडान गरिएका बसहरूमा १४४ किलोवाट क्षमताको ‘सीएटीएल’ ब्याट्री प्रयोग गरिएको छ।

शशिला मोटर्स प्रालिद्वारा चीनबाट आयात गरिएका यी बसहरूले पूर्ण चार्जपछि करिब २०० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता राख्छन्।

प्रत्येक बसको मूल्य करिब १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको बताइएको छ।

सेवा विस्तार कार्यक्रममा महानगर यातायातका सचिव केशव नेपालले विद्युतीय सवारी अब विकल्प नभई आवश्यकता बनिसकेको बताए।

प्रारम्भिक लगानी केही बढी भए पनि सञ्चालन खर्च कम हुने र दीर्घकालीन रूपमा आर्थिक रूपमा लाभदायक देखिएकाले विद्युतीय बस सार्वजनिक यातायातका लागि उपयुक्त विकल्प बनेको उनको भनाइ थियो।

उनले अन्य यातायात व्यवसायीलाई पनि डिजेल सवारीको विकल्प खोज्दै विद्युतीय यातायातमा लगानी बढाउन आग्रह गरे।

साथै, विद्युतीय सवारी सञ्चालनलाई प्रोत्साहन गर्न विद्युत् महसुलमा सहुलियत आवश्यक रहेको उल्लेख गर्दै सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए।

कम्पनीका सञ्चालक समिति सदस्य धर्मराज रिमालले यसअघि सञ्चालनमा रहेका १२ वटा विद्युतीय बसबाट प्राप्त सकारात्मक अनुभवपछि थप १६ बस सञ्चालनमा ल्याइएको जानकारी दिए।

उनका अनुसार विद्युतीय बसको सञ्चालन खर्च डिजेल बसको तुलनामा निकै कम हुने भएकाले व्यवसायिक रूपमा पनि यो मोडल सफल देखिएको छ।

रिमालले विद्युतीय बसबाट डिजेल सवारीको तुलनामा झण्डै चार गुणासम्म बढी आम्दानी सम्भव भएको अनुभव साझा गर्दै बिक्रीपछिको सेवामा शशिला मोटर्सले दिएको सहयोग पनि सन्तोषजनक रहेको बताए।

कार्यक्रममा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले नेपालमा सार्वजनिक यातायातको विद्युतीकरणलाई तीव्रता दिन ठूला आकारका विद्युतीय बसहरूको भूमिका महत्वपूर्ण हुने बताए।

उनले वातावरण संरक्षण, इन्धन आयात घटाउने तथा सार्वजनिक यातायातलाई आधुनिक बनाउने दिशामा यस्ता बसहरू कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।

हाल महानगर यातायात प्रालिले काठमाडौं उपत्यका तथा बाहिरी जिल्लामा १४० भन्दा बढी सवारी साधनमार्फत सेवा दिइरहेको छ।

नयाँ बस थपिएसँगै कम्पनीको विद्युतीय सवारी संख्या ५२ पुगेको छ, जसमा २८ वटा ठूला सिटी बस र २४ वटा माइक्रोबस रहेका छन्।

विद्युतीय सार्वजनिक यातायातको बढ्दो प्रयोगले काठमाडौं उपत्यकामा प्रदूषण नियन्त्रण, इन्धन खर्च कटौती तथा दिगो यातायात प्रणाली विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com