काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक लीला पेइटर्सबीच सोमबार काठमाडौँमा भेटवार्ता भएको छ।
भेटमा स्वास्थ्य, खाद्य स्वच्छता तथा दिगो विकासका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घअन्तर्गतका विभिन्न निकायहरूले नेपाललाई प्रदान गर्दै आएको सहयोग र भावी सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) लगायतका संस्थाहरूले स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा पुर्याइरहेको योगदानबारे पनि कुराकानी भएको थियो।
छलफलका क्रममा सरकारका शासकीय सुधारसम्बन्धी १०० बुँदे प्राथमिकता, दिगो विकास लक्ष्य (एसडीजी), सर्वसुलभ स्वास्थ्य सेवा (युनिभर्सल हेल्थ कभरेज), स्वास्थ्य बीमा, जलवायु परिवर्तनका असर, खाद्य स्वच्छता तथा स्वास्थ्य क्षेत्रको डिजिटल रूपान्तरणलगायत विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।
त्यसैगरी, टेलिमेडिसिन सेवाको विस्तार, प्रविधिमैत्री स्वास्थ्य प्रणालीको विकास तथा स्वास्थ्य सेवामा नागरिकको पहुँच अभिवृद्धि गर्ने विषय पनि छलफलका प्रमुख एजेन्डा बनेका थिए।
भेटमा नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घबीच स्वास्थ्य तथा मानव विकासका क्षेत्रमा जारी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत सहमति भएको बताइएको छ।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया