काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालमा पछिल्लो समय आएको विपद्, जलवायु परिवर्तनको प्रभाव तथा राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहकार्यका विषयमा छलफल भएको छ ।
भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गरे ।
प्रधानमन्त्री शाहले विपद्का कारण नेपाली नागरिकसँगै विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण यस्ता विपद्को सामना गर्नुपरेको बताए । जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण तथा त्यसबाट हुने क्षति सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए ।
भेटमा प्रधानमन्त्री शाहले नेपालको पर्यटन क्षेत्रमा रहेको सम्भावनाबारे समेत चर्चा गरे । पर्यटन क्षेत्रको विकासमार्फत नेपाल र अमेरिकाबीच पारस्परिक लाभ हासिल गर्न सकिने उल्लेख गर्दै उनले नेपालमा अमेरिकी लगानीलाई स्वागत गर्ने बताए ।
भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरिन् ।
उनले विपद्को यस कठिन घडीमा अमेरिकी सरकार नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताइन् । राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तयार रहेको जानकारीसमेत उनले गराइन् ।
प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार












प्रतिक्रिया