काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तारअन्तर्गत दुई जनालाई मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। सिफारिसअनुसार सुधन गुरुङलाई गृहमन्त्री र स्वतन्त्र सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने तयारी गरिएको छ।
राष्ट्रपति कार्यालयका अनुसार दुवै नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको शपथ मंगलबार अपराह्न ४:३० बजे गराउने कार्यक्रम तय गरिएको छ। यसअघि शपथ ग्रहण समारोह दिउँसो ३ बजेका लागि तय गरिएको भए पनि पछि समय परिवर्तन गरिएको जनाइएको छ।
मंगलबार नै प्रधानमन्त्रीको सिफारिस राष्ट्रपतिसमक्ष पुगेपछि नियुक्ति प्रक्रियाले औपचारिकता पाएको हो।
गुरुङ यसअघि पनि वर्तमान सरकारमा गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। उनको सम्पत्तिसम्बन्धी विषयलाई लिएर प्रश्न उठेपछि उनले पदबाट राजीनामा दिएका थिए। सो विषयमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेको छ।
यता महावीर पुन विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रका अभियन्ताका रूपमा परिचित छन्। उनी यसअघि अन्तरिम सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। पछिल्लो समय विज्ञान तथा नवप्रवर्तन क्षेत्रमा लगानी वृद्धि र नीतिगत सुधारका पक्षमा उनले निरन्तर आवाज उठाउँदै आएका छन्।
दुवै जनाको नियुक्तिसँगै सरकारको मन्त्रिपरिषद्ले नयाँ स्वरूप पाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया