- — ग्लोबल नागरिक फ्याक्ट चेक डेस्क
ललितपुरको कुपण्डोलस्थित ग्रीनविच होटलका सञ्चालक आशुतोष आचार्यले सामाजिक सञ्जालमार्फत आफूले समिट होटलबाट क्षतिपूर्ति नपाएको दाबी गर्दै सार्वजनिक गरेका सामग्री उपलब्ध कागजात र भुक्तानी विवरणसँग मेल नखाने देखिएको छ। ग्लोबल नागरिकलाई प्राप्त आधिकारिक कागजात, हस्ताक्षरसहितका रसिद तथा समिट होटलले सार्वजनिक गरेको विवरणले ग्रीनविच होटलले विभिन्न मितिमा गरेर कुल ९ करोड ६६ लाख रुपैयाँ बुझिसकेको देखाउँछ। त्यसैले ‘क्षतिपूर्ति नै पाएको छैन’ भन्ने दाबी उपलब्ध प्रमाणका आधारमा सत्य देखिँदैन।
दाबी:
ग्रीनविच होटलका सञ्चालक आशुतोष आचार्यले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका भिडियो र अभिव्यक्तिमा आफूहरूले क्षतिपूर्ति नपाएको तथा आफ्नो पक्षमाथि अन्याय भएको दाबी गरेका छन्।
फ्याक्ट चेक
२०७९ चैत २५ गते समिट अपार्टमेन्ट निर्माणको प्रारम्भिक चरणमा जमिन भासिँदा ग्रीनविच होटलसहित आसपासका केही संरचनामा क्षति पुगेको थियो। त्यसपछि स्थानीय जनप्रतिनिधि, नियामक निकाय र प्रभावित पक्षबीचको समन्वयमा क्षतीपुर्ती र समस्या समाधानको प्रक्रिया अघि बढाइएको थियो। यससँगै ग्लोबल नागरिकलाई प्राप्त विवरणमा ग्रीनविच होटलले समिटबाट क्षतीपुर्ती बापत विभिन्न चरणमा भुक्तानी प्राप्त गरेको देखिन्छ। उक्त विवरणअनुसार २२ डिसेम्बर २०२४ देखि २५ अप्रिल २०२५ सम्म विभिन्न २२ मितिमा रकम भुक्तानी गरिएको देखिन्छ। उक्त तालिकामा अन्तिम ‘क्युमुलेटिभ रिसिप्ट’ अर्थात् कुल प्राप्त रकम ९ करोड ६६ लाख रुपैयाँ पुगेको उल्लेख गरिएको छ।
रकम प्राप्तिको विवरणसँगै हस्ताक्षरसहितका रसिद र कम्पनीको छापसमेत समावेश छन्। यसबाट ‘क्षतिपूर्ति नै नपाएको’ भन्ने दाबी र उपलब्ध अभिलेखबीच स्पष्ट विरोधाभास देखिन्छ।
ग्लोबल नागरिकलाई प्राप्त ९ करोड ६६ लाख भुक्तानीका केही रसिदहरु, थप प्रमाण सुरक्षित ।
पुनर्निर्माणको प्रस्तावसमेत अस्वीकार
समिटले ग्रीनवीच होटलको क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न आफूहरू तयार रहेको उल्लेख गरेको छ। ९ करोड ६६ लाख रुपैयाँ आर्थिक क्षतिपूर्ति दिइसकेको भएतापनी चर्किएको ग्रीनविचको संरचना पुनर्निर्माण गरेर समस्या स्थायी रूपमा समाधान गर्ने प्रस्तावसमेत समिटले गरेको देखिन्छ। तर पीडित ग्रीनवीच होटल पक्षले पुनर्निर्माणको विकल्प स्वीकार नगरी थप आर्थिक दाबीलाई प्राथमिकता दिएको समिटको भनाइ छ। समिटले प्रभावित ८ मध्य ७ पक्षसँग सहमति भइसकेको र कार्यान्वयन भईरहेको जनाएको छ।
लेखापरीक्षण प्रतिवेदनले उठाएको थप प्रश्न
ग्लोबल नागरिकले अध्ययन गरेको लेखापरीक्षण सम्बन्धी अभिलेख अनुसार ग्रीनविच होटल पछिल्लो एक दशकदेखि घाटामा सञ्चालन हुँदै आएको देखिन्छ। ग्रीनवीच होटल १० बर्ष देखी नोक्सानीमा संचालन भईरहेको भएपनी समिटले बर्षको १ करोड ६० लाख भन्दा बढी हुने गरि आगामी ६ बर्षका लागी क्षतिपूर्ति दिईसकेको तथ्य समेत बाहिरिएको छ। उक्त क्षतिपूर्ति बापतको रकम के मा खर्च भयो भन्ने प्रश्न समेत उठ्न थालेको छ। १० बर्ष देखी घाटामा रहेको होटललाई वार्षिक १ करोड ६० लाखका दरले क्षतिपुर्ती उपलब्ध गराउँदै आएको समिटले ग्रीनविचको चर्किएको संरचना पुर्ण रुपमा जस्ताको त्यस्तै नयाँ बनाइदिने प्रतिबद्धता जनाउँदा ग्रीनविचले अस्विकार गर्नुले ग्रीनविच थप आर्थिक लाभ लिन उद्दत रहेको देखिन्छ।

ग्रीनवीच होटल बर्षौँदेखि घाटामा, थप प्रमाण सुरक्षित ।
ग्रीनविच होटलको लेखापरीक्षण प्रतिवेदनमा समेत ठूलो कैफियत भेटिएको छ। (थप अनुसन्धानपछि विस्तृत फलोअप समाचारमा)
सामाजिक सञ्जालमा फैलाइएका सामग्रीबारे समिटको आपत्ति
समिट होटलले रकम बुझाइसकिएको अवस्थामै ‘क्षतिपूर्ति पाएको छैन’ भन्ने आशयका भिडियो सामग्री सार्वजनिक गरेर आमजनमानसमा भ्रम सिर्जना गरिएको जनाएको छ। होटलले यस्ता सामग्रीले वास्तविक सहमति प्रक्रिया र भुक्तानीको तथ्यलाई तोडमोड गरेर प्रस्तुत गरेको आरोपसमेत लगाएको छ।
निष्कर्ष:
दाबी – ”ग्रीनविच होटलले समिट होटलबाट कुनै क्षतिपूर्ति पाएको छैन।”
तथ्य – सार्वजनिक भएको हस्ताक्षरसहितको भुक्तानी विवरण, रकम बुझिलिएको रसिद तथा प्रेस विज्ञप्तिअनुसार ग्रीनविच होटलले विभिन्न चरणमा गरी कुल ९ करोड ६६ लाख रुपैयाँ प्राप्त गरेको अभिलेख देखिन्छ। त्यससँगै समिट होटलले ग्रीनविचको चर्किएको भवन पुर्ण रुपमा पुनर्निर्माण गरिदिने जनाएपनि ग्रीनविचले अस्विकार गरी करोडौं रकमको डिमाण्ड गरेको देखिन्छ।
फ्याक्ट चेक निर्णय
भ्रामक: उपलब्ध कागजातहरूले ग्रीनविच होटलले क्षतिपूर्ति स्वरूप ९ करोड ६६ लाख रुपैयाँ प्राप्त गरेको देखाउँछन्। त्यसैले ‘क्षतिपूर्ति नै पाएको छैन’ भन्ने आशुतोष आचार्यको दाबी उपलब्ध प्रमाणसँग मेल नखाने भएकाले उक्त दाबी भ्रामक देखिन्छ।
- सम्पादकीय नोट:
यो फ्याक्ट चेक हामीलाई प्राप्त कागजात, रकम प्राप्तिको विवरण, हस्ताक्षरसहितका रसिद तथा उपलब्ध आर्थिक अभिलेखको अध्ययनका आधारमा तयार गरिएको हो। ग्रीनविच होटलका सञ्चालक आशुतोष आचार्यसँग लामो समय देखी सम्पर्क गर्ने प्रयास गरेतापनि उनी सम्पर्कमा आउन चाहेनन्।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया