काठमाडौं । प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि असार १ र २ गते विस्तृत छलफल हुने भएको छ। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले असार ३ र ४ गते दिने कार्यतालिका तय गरिएको छ।
संघीय संसद् सचिवालयका अनुसार असार १ गते युवा, श्रम तथा रोजगार; उद्योग, वाणिज्य तथा आपूर्ति; कृषि, वन तथा वातावरण; सूचना तथा सञ्चार; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; शिक्षा तथा खेलकुद; स्वास्थ्य तथा खाद्य स्वच्छता; भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन; तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका विनियोजन शीर्षकमाथि छलफल हुनेछ।
त्यसैगरी असार २ गते विज्ञान, प्रविधि तथा नवप्रवर्तन; कानुन, न्याय तथा संसदीय मामिला; पूर्वाधार विकास; गृह; ऊर्जा, जलस्रोत तथा सिँचाइ; परराष्ट्र; अर्थ; रक्षा मन्त्रालयका बजेट शीर्षकका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विनियोजनमाथि छलफल गरिनेछ।
सचिवालयका अनुसार असार ३ गते पहिलो दिन छलफल भएका मन्त्रालयहरूसँग सम्बन्धित विषयमा सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्। यस्तै, असार ४ गते दोस्रो दिन छलफल भएका मन्त्रालय तथा निकायका तर्फबाट सम्बन्धित मन्त्रीहरूले जवाफ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्मा प्रस्तुत गरेको थियो। बजेटमाथिको सामान्य छलफल यसअघि नै सम्पन्न भइसकेको छ भने अर्थमन्त्री स्वर्णिम वाग्ले ले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफसमेत दिइसकेका छन्।
अब प्रतिनिधि सभामा मन्त्रालयगत बजेट शीर्षकमाथिको विस्तृत छलफलपछि विनियोजन विधेयकलाई अन्तिम रूप दिने संसदीय प्रक्रिया अगाडि बढ्नेछ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया