लस एन्जलस। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो खेल खेलिसकेपछि इरानको राष्ट्रिय फुटबल टोलीलाई अमेरिकी अधिकारीहरूले तत्काल देश छोड्न निर्देशन दिएका छन् ।

न्युजिल्यान्डसँग सोमबार राति २-२ को रोमाञ्चक बराबरी खेलेको केही घण्टाभित्रै इरानी टोलीलाई अमेरिकामा रात बिताउनसमेत नदिई मेक्सिकोको टिजुआनास्थित तालिम क्याम्पतर्फ फिर्ता पठाइएको हो ।

advertisement

खेलपछि क्यालिफोर्नियामै बसेर खेलाडीहरूको थकान मेटाउने र आराम गर्ने टोलीको पूर्वनिर्धारित योजना रहे पनि अमेरिकी आप्रवासन नीति र कडा भिसा नियमका कारण उनीहरूलाई हतारमा विमान चढाएर फर्कन बाध्य पारिएको छ ।

यो अप्रत्याशित निर्णयप्रति इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै उनले दुई देशबीचको कूटनीतिक तनाव र हालैका सैन्य घटनाक्रमका कारण टोलीले धेरै प्रशासनिक झन्झट बेहोर्नुपरेको बताए ।

“हामीलाई खेलपछि थकान मेटाउने सामान्य समयसमेत दिइएन । वास्तविकता के हो र हामीलाई किन यसरी हतारमा फिर्ता पठाइँदैछ भन्ने कुराको आधिकारिक कारण हामीलाई थाहा छैन,” दोभाषेमार्फत घालेनोईले भने । उनले कडा यात्रा तालिकाका कारण केही खेलाडीहरूको खुट्टा बाउँडिएको र यसले आगामी खेलहरूको तयारीमा असर पार्ने चिन्ता व्यक्त गरे ।

टोलीका कप्तान मेहदी तारेमीले पनि व्यवस्थापन र सुरक्षा जाँचको कडा प्रक्रियालाई ‘विपत्ति’को संज्ञा दिँदै फिफाले यसमा ठोस भूमिका खेल्नुपर्ने माग गरे । उनले मेक्सिकोको सिमानाबाट लस एन्जलससम्मको छोटो यात्रामा कडा सुरक्षा जाँचका कारण ५ घण्टाभन्दा बढी समय लागेको बताए ।

यसबाहेक, अमेरिकी सरकारले इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताज, टोलीका प्राविधिक विश्लेषक र सञ्चारकर्मीहरूसहित करिब १५ जना महत्वपूर्ण सदस्यलाई भिसा दिन अस्वीकार गरेपछि इरानी टोली मुख्य नेतृत्व र सहयोगीबिना नै मैदानमा उत्रिन बाध्य भएको थियो ।

खेलमा न्युजिल्यान्डका एलाइजा जस्टले दुई गोल गरे पनि इरानका रामिन रेजाईयान र मोहम्मद मोहेब्बीले गोल फर्काउँदै बराबरीमा रोकेका थिए ।

इरानी टोली मेक्सिको फर्किए पनि आगामी आइतबार बेल्जियमविरुद्धको दोस्रो खेल पुनः लस एन्जलसकै सोफाइ स्टेडियममा रहेको छ । यसले टोलीलाई फेरि उडान र सुरक्षा झन्झटको सामना गर्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com