काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर रहमानबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल–बङ्गलादेश सम्बन्ध, क्षेत्रीय सहकार्य तथा साझा विकासका विविध विषयमा विचार आदानप्रदान भएको थियो।

भेटमा सभामुख अर्यालले नेपाल र बङ्गलादेशबीचको सम्बन्ध सार्वभौमिक समानता, पारस्परिक सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै नेपालले बङ्गलादेशसँगको मैत्रीपूर्ण सम्बन्धलाई सदैव उच्च प्राथमिकता दिएको बताए।

advertisement

उनले बङ्गलादेशमा जनादेशका आधारमा गठन भएको सरकारलाई शुभकामना व्यक्त गर्दै जनताको हित, देशको विकास र समृद्धिका लागि सफल कार्यकालको कामना गरे। साथै नेपालमा पनि हालै निर्वाचन सम्पन्न भई नयाँ सरकार गठन भएको उल्लेख गर्दै दुवै मुलुकबीचको सहकार्य अझ सुदृढ बन्दै द्विपक्षीय सम्बन्धका नयाँ आयामहरू विस्तार हुने विश्वास व्यक्त गरे।

सभामुख अर्यालले बङ्गलादेशले आर्थिक विकास र पूर्वाधार निर्माणमा हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै त्यहाँका सफल अभ्यासहरू नेपालका लागि पनि उपयोगी हुन सक्ने धारणा राखे। उनले नेपाल–बङ्गलादेश सहकार्यले दुवै देशका नागरिकको समृद्धि, कल्याण र विकासमा सकारात्मक योगदान पुर्‍याउने बताए।

खेलकुद क्षेत्रको सहकार्यबारे चर्चा गर्दै सभामुख अर्यालले फुटबल, क्रिकेट, भलिबललगायत खेलकुद गतिविधिमार्फत दुई देशका युवाबीच सम्बन्ध, मित्रता र आपसी समझदारी अझ सुदृढ हुँदै गएको उल्लेख गरे। उनले पर्यटन, सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्पर्क विस्तारसँगै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्ने अपेक्षा व्यक्त गरे।

भेटवार्ताका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, जलवायु परिवर्तन तथा क्षेत्रीय सहयोगका विविध विषयमा पनि छलफल भएको थियो। सभामुख अर्यालले विशेषगरी चिकित्सा शिक्षा तथा अन्य प्राविधिक विषयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले पुर्‍याएको योगदानको प्रशंसा गरे।

जलवायु परिवर्तनका चुनौतीबारे बोल्दै उनले हिमाली क्षेत्रका वातावरणीय जोखिम र समुद्री तटीय क्षेत्रमा देखिएका समस्या नेपाल र बङ्गलादेशका साझा सरोकारका विषय भएको बताए। यस्ता चुनौतीहरूको सामना गर्न क्षेत्रीय तथा द्विपक्षीय सहकार्य आवश्यक रहेको उनको धारणा थियो।

उक्त अवसरमा राजदूत रहमानले पनि नेपाल र बङ्गलादेशले जलवायु परिवर्तन, प्राकृतिक विपद् व्यवस्थापन, आर्थिक विकास तथा रूपान्तरणका क्षेत्रमा समान प्रकृतिका चुनौतीहरू सामना गरिरहेको बताए। उनले ती चुनौतीहरूको समाधानका लागि अनुभव आदानप्रदान, साझेदारी र सहकार्यलाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको उल्लेख गरे।

राजदूत रहमानले ऊर्जा, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य तथा जनस्तरीय सम्बन्धका क्षेत्रमा विद्यमान सहकार्यलाई थप विस्तार गर्न बङ्गलादेश सरकार सकारात्मक रहेको जानकारी दिए। साथै दक्षिण एसियाली क्षेत्रीय सहयोगलाई थप प्रभावकारी बनाउँदै साझा हित र विकासका मुद्दामा मिलेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com