काठमाडौं । पार्टी एकता भएको सात महिना नपुग्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक असन्तुष्टि सार्वजनिक रूपमा सतहमा आएको छ। पार्टीका वरिष्ठ नेता झलनाथ खनालले शीर्ष नेतृत्वको कार्यशैलीप्रति असहमति जनाउँदै संयोजक पुष्पकमल दाहाललाई ३६ बुँदे असन्तुष्टि पत्र बुझाएका छन्।

खनालले पत्रमार्फत पार्टी सञ्चालन शैली, जिम्मेवारी बाँडफाँट, वैचारिक दिशादेखि नेतृत्वको भूमिकासम्मका विषयमा गम्भीर प्रश्न उठाएका छन्। उनले विशेषगरी सहसंयोजक माधवकुमार नेपालको कार्यशैलीप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन्।

advertisement

पत्रमा खनालले पार्टी एकता सम्पन्न भएको लामो समय बितिसक्दा पनि आफूलाई कुनै प्रभावकारी जिम्मेवारी नदिइएको उल्लेख गर्दै यसलाई आफूलाई योजनाबद्ध रूपमा किनारा लगाउने प्रयासका रूपमा व्याख्या गरेका छन्। करिब छ दशकदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आएका आफूजस्ता वरिष्ठ नेतालाई निष्क्रिय बनाउनु नेतृत्वको नियतसँग जोडिएको विषय भएको उनको संकेत छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले पार्टी एकताअघि भएका वैचारिक समझदारी र सहमतिहरू कार्यान्वयन नभएको आरोप लगाएका छन्। उनका अनुसार मार्क्सवाद–लेनिनवाद र वैज्ञानिक समाजवादलाई आधार बनाएर भएको सहमतिको मूल मर्मबाट पार्टी नेतृत्व विचलित भएको छ।

खनालले संयोजक पुष्पकमल दाहाल आफ्नो प्रारम्भिक राजनीतिक अडानमा दृढ रहन नसकेको तथा पार्टीभित्रको शक्ति सन्तुलनका कारण दबाबमा परेको आरोपसमेत लगाएका छन्।

पत्रमा सहसंयोजक माधवकुमार नेपालको भूमिकामाथि पनि आलोचनात्मक टिप्पणी गरिएको छ। पार्टीभित्र गुटगत राजनीति मौलाएको, सक्षम र नयाँ पुस्ताका नेताहरूप्रति पूर्वाग्रहपूर्ण व्यवहार भएको तथा फरक मत राख्ने नेताहरूलाई अवसरबाट वञ्चित गर्ने प्रवृत्ति बढ्दै गएको खनालको आरोप छ।

उनले भ्रष्टाचारसम्बन्धी मुद्दा खेपिरहेका तथा नैतिक प्रश्नहरूको सामना गरिरहेका व्यक्तिलाई पार्टीको उच्च नेतृत्वमा राखिएको भन्दै त्यसले पार्टीको नैतिक विश्वसनीयतामाथि प्रश्न उठाएको टिप्पणी गरेका छन्।

खनालले एमाले विभाजनदेखि साविक नेकपाको विघटनसम्मका राजनीतिक घटनाक्रमलाई गम्भीर रणनीतिक त्रुटिका रूपमा व्याख्या गरेका छन्। साथै, कम्युनिष्ट आन्दोलनको मूल वैचारिक धरातल कमजोर पार्ने गरी विभिन्न राजनीतिक अवधारणाहरू पार्टीभित्र प्रवेश गराइएको आरोप पनि लगाएका छन्।

लामो समयदेखि आफूले भोग्दै आएको असन्तुष्टि व्यक्त गर्दै खनालले पार्टीभित्र आफ्नो भूमिका सीमित बनाइएको र स्वतन्त्र रूपमा योगदान गर्ने वातावरण नपाएको उल्लेख गरेका छन्।

पत्रको अन्त्यमा उनले वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन र नैतिक नेतृत्वबिना बलियो तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण सम्भव नहुने चेतावनी दिएका छन्। साथै, पार्टीले आत्मसमीक्षा गर्दै सही राजनीतिक दिशा अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

(पत्रसहित)

प्रकाशित मिति: ३ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com