काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय पदाधिकारी संरचना विस्तार गर्दै १९ सदस्यीय बनाउने निर्णय गरेको छ।
बिहीबार बसेको पार्टी सचिवालय बैठकले विधान संशोधन गर्दै वरिष्ठ नेता पदसहित थप संरचना समावेश गर्ने निर्णय गरेको हो। संशोधित व्यवस्थाअनुसार अब पार्टीमा एक वरिष्ठ नेता र एक सहमहामन्त्री थपिनेछ।
यसअघि सहमहामन्त्री चार जनाको मात्र व्यवस्था रहेको र वरिष्ठ नेताको पद नहुने व्यवस्था थियो। नयाँ संशोधनसँगै पार्टीको केन्द्रीय पदाधिकारी संरचना थप विस्तारित भएको हो।
नयाँ संरचनाअनुसार रास्वपाको पदाधिकारी पदहरू यसप्रकार रहनेछन्—
सभापति १, वरिष्ठ नेता १, उपसभापति ३ (जसमध्ये १ महिला), महामन्त्री २, सहमहामन्त्री ५ (जसमध्ये १ महिला), प्रवक्ता १, सहप्रवक्ता ३ (जसमध्ये १ महिला), कोषाध्यक्ष १ र सहकोषाध्यक्ष २ (जसमध्ये १ महिला)।
पार्टीले संगठनात्मक संरचना सुदृढीकरण र जिम्मेवारी बाँडफाँडलाई थप व्यवस्थित बनाउन यो संशोधन गरिएको जनाएको छ।
प्रकाशित मिति: ४ असार २०८३, बिहिबार













प्रतिक्रिया