तपाईं आफ्नो सपना प्राप्त गर्नको लागि कुन हदसम्म पुग्न सक्नुहुन्छ? के तपाईं सारा सम्बन्ध, सम्पत्ति गुमाउने स्थितीसम्म पुग्दा पनि आफ्नो सपनाको पछाडी दौड्न सक्नुहुन्छ? कति संघर्ष खप्न सक्नुहुन्छ?
हण्डरमाथि हण्डर कुन सीमासम्म सहन सक्नुहुन्छ?
तपाईं सपनाको शिखरमा चढ्दै गर्दा तपाईंलाई सधैं उत्प्रेरित गर्ने र सहयोगी भइरहने आफ्ना नजिकका व्यक्तिहरूप्रति तपाईंको रवैया कस्तो होला?
कतिपटक शून्यमा झरेपछि पनि फेरि नयाँ सुरूवात गर्ने आँट बाँकी रहन्छ?
तपाईं टुट्ने सीमा कति हो?
तपाईं सकिनै लाग्दा तपाईंलाई कस्ले जोगाउँछ?
अनि तपाईंको सपना पुरा हुन्छ त?
हो, ठ्याक्कै यस्तै अनेकन प्रश्न र द्वन्द्वहरूले भरपुर चलचित्र हो ‘I am जितबहादुर’। गाउँको नाटकघरमा उत्कृष्ट अभिनय गर्ने चलचित्रको मुख्य पात्र ‘जितबहादुर’ले आफ्नो अभिनयको भोक पुरा गर्न यति धेरै संघर्षका पहाडहरू पार गर्नुपर्ने हुन्छ कि उसका लागि जीवनका अन्य सबै चीज फिक्का भइदिन्छन्। गाउँका अप्ठ्यारा र शहरका बाध्यताको चक्रमा फनफनी घुमेको जितबहादुरको यात्रा अनेक उतारचढाव, आशा, निराशा, धोका, अटुट साथ र सफलताको कथा हो ।
यद्यपि यो चलचित्र ‘I am जितबहादुर’ यसका मुख्य अभिनेता ‘जितु (जित बहादुर) नेपाल’को आफ्नै जीवनकथा चाहिँ होइन । यो कथाले नेपालको सामाजिक, आर्थिक पृष्ठभूमिमा सपना पछ्याउँने जो कसैको पनि जीवनसँग मेल खान्छ। अझ सपनाको खोजीमा ग्रामीण परिवेशबाट शहर छिर्नेले भोग्ने तीतामीठा अनुभवहरूको त गणना नै छैन।
थिएटर मजाक हो?
‘होइन, थियटर मजाक होइन !’
थियटरमा अभावकाबीच पनि दिनरात मेहनत गर्ने जितबहादुरको परिवारमा पनि अभाव नै छ। केको अभाव छ? एउटा जिम्मेवार छोराको, एक जिम्मेवार पति र जिम्मेवार पिताको ठूलो अभाव खट्किरहेको छ। छोरी बढ्दै छिन्, बिमारीको दूश्चक्रमा फसेका पिता मृत्यु कुरिरहेका छन्। श्रीमती पतिको अनुपस्थितिमा घर सम्हाल्ने हिम्मत राख्छिन्। पतिको स्वभाव, सपना र कला-क्षमतासँग परिचित छन्। हिम्मत हारेको, टुक्रिएको पतिलाई कुनै पनि हालतमा आफ्नो सपना पछ्याउँन ठूलो आड र भरोसा दिन्छिन् । पतिलाई उसको सपनाको संसारमा, एक हिसाबले भन्दा, धकेलिदिन्छिन् ।
नाटकको रंगमञ्चमा आफ्नो क्षमतालाई उजागर गरिरहेको प्रतिभाशाली पात्रमा एकदिन अचानक सिनेमाको संसारमा प्रवेश गर्ने चस्का लाग्छ । काठमाडौं जान चलचित्र निर्देशकको ठेगाना बोकेको नाटकको मुख्य पात्रलाई थिएटरमा राष्ट्रिय नाट्य प्रतिस्पर्धामा भाग लिन तयार हुँदै गरेको नाटकको प्रतिभाशाली निर्देशकले ‘थियटर के हो?’ भनेर सिकाउँछ । कठोर र निर्मम रूपमा नाटक निर्देशकबाट निस्केका गोलीका छर्राजस्ता तीता तर वास्तविक वाणीहरूले उसलाई अब छुँदैनन्। ‘थियटरमा अभिनयको गहीराइ छ, वास्तविकता र जीवनसँग नजिक छ तर चलचित्रको व्यावसायिक नियत, ग्ल्यामर र चमकधमकको खेलले एउटा असल कलाकारलाई सँधैका लागि सिध्याउँछ’ भन्ने चिन्ता नाटक निर्देशकमा रहेको देखिन्छ।
जितबहादुर सीसाको ऐना जसरी टुक्रिन्छ। तर, नाटक छोडेर चलचित्रको अज्ञात यात्रामा निस्कन्छ। उसले घर छोड्छ, उसलाई जुनसुकै अवस्थामा पनि सदा प्रेम गर्ने श्रीमती छोड्छ, सानी प्यारी छोरी छोड्छ र जीवनको उत्तरार्धमा छोराको सहायता खोजिरहेका बिमार पितालाई पनि छोड्छ ।
अनि चलचित्र नि!
‘अँ, चलचित्र पनि नशा नै हो । भोक हो । प्यास हो । यस्तै यस्तै… ।’
चलचित्रको जुनसुकै विभागमा काम गर्नेलाई यस्तै लाग्छ।
राजधानीमा अलपत्र परेको ‘जितबहादुर’को उद्दार गर्न आइपुग्ने चलचित्रको निर्माण व्यवस्थापक (प्रोडक्सन म्यानेजर)लाई पनि यही चलचित्रको नशाले कहीं न कहीं छोएको छ, र त उ जोखिम हुँदाहुँदै पनि जितबहादुरलाई सहयोग गर्न तयार हुन्छ । जितबहादुरको क्षमताको कदर गर्छ, उसलाई सफल भएको हेर्न चाहन्छ । हरदम उसको सहयोगी सिद्ध भइरहन्छ, अन्त्यसम्म एउटा असल मित्र र सुरूमा अभिभावकको रूपमा।
चलचित्रको सुटिङ सेटमा जितबहादुरले डाइरेक्टरलाई सोध्ने “ कुन रसमा बोलौं डाइलग सर ?” भन्ने प्रश्न र जिज्ञासाले जितबहादुरमा नाटकघरको सिकाइको प्रभाव अझैं पनि रहेको देखिन्छ, जसले उसमा रहेको अभिनयप्रतिको गम्भिरतालाई सरल रूपमा प्रकट गर्छ । भलै यो प्रश्नले उसले बल्लतल्ल धेरैवटा अडिसन पार गरेपछि पाएको छोटो एक डायलग र अभिनय गर्ने अवसर पनि गुमाउन पुग्छ।
साथीले उसलाई देखेर दिक्क मान्छ- ‘अरे तँ अभिनय गर्न गको कि सिकाउन?’ यो वाक्यले आफैंमा हास्य र गम्भिरता दुवै बोक्छ । यसले चलचित्र निर्माण गर्ने क्रममा हुने कमजोरीहरूलाई उजागर गर्दै त्यसलाई व्यंग्य गर्छ र एउटा असल अभिनेता कसरी विकृतिको मारमा पर्छ भन्ने रहस्योद्घाटन पनि गर्छ, जसले दर्शकको मनलाई खिन्न बनाउँछ ।
‘जितबहादुर’को पागलपन
जितबहादुरमा पागलपन छ । सुरूदेखि अन्त्यसम्म।
घरमा उ सामान्य पुत्र होइन । सहरमा उ सामान्य कलाकार होइन ।
उसको सपना साकार गर्ने सोचले उसलाई राजधानीमा बाँच्नकै लागि जे भेटिन्छ त्यही काम गर्न विवश बनाउँछ ।
गाउँमा रहँदा त उसले आफ्नो पारिवारिक जिम्मेवारीको भारी बोकेन नै । तर अब भने आफ्नो सपनाको महासागरको गहिराइमा डुब्दै गरेको जितबहादुर आफ्नो सर्वस्व नै बन्धक बनाउँन तयार भइदिन्छ ।
उसलाई विनासर्त प्रेम गर्ने पत्नीको उप्रतिको त्याग र समर्पण मन छुने र उदाहरणीय छ । उनको श्रीमानको सपना पुरा गर्न उनी सबथोक दाउमा लगाउन तयार भइदिन्छिन् । यतिखेर फिल्म हलमा दर्शकहरूको गाईगुँई सुनिन्छ -“श्रीमती त राम्रो पाको हो है जितबहादुरले!”
जितबहादुरको यो बहुलठ्ठीपन देखेर उसको साथीले अब भने उसँग हार खान्छ । कुनैबेला आफैंले शरण दिएको व्यक्तिले उसँग सम्बन्ध नै तोडिदिएको नमीठो अनुभव लिएर उ दृश्यबाट गायब हुन्छ।
अब सबैसँग एक्लिएको मनमौजी जितबहादुर आफ्नो सपनाको ‘ठूलो झोला’ बोकेर फिल्म निर्माता, निर्देशककोमा पुग्छ ।
काठमाडौंका थियटरहरूमा अडिसनहरूको चक्करै चक्करमा भौतारिरहेको संघर्षरत जितबहादुरलाई संयोगले या नियतले अवसर दिने निर्मात्री एंव अभिनेत्री र जितबहादुरको बीचमा मौलाएको केमेस्ट्री पनि आकर्षक र रमाइलो लाग्छ । झण्डै झण्डै घरकी महान् त्यागी श्रीमतीलाई बिर्सियो कि जितबहादुरले भन्ने भान हुन थाल्छ । तर अचानक कहानीमा ट्विस्ट आउँछ ।
त्यसपछि के हुन्छ ? जितबहादुर कहाँ पुग्छ ? उसलाई के हुन्छ? उसले के गर्छ ? उसकी श्रीमती, छोरी, पितालाई के हुन्छ? अनि उसको साथी प्रोडक्सन म्यानेजरको हालत के हुन्छ? उसँग फिल्म निर्माण गर्दै गरेकी अभिनेत्री र निर्देशकको अवस्था के हुन्छ होला ?
अनि जितबहादुरको सपना चैं?
यि र यावत प्रश्नको जवाफ खोज्न भने तपाईं स्वयं नै फिल्म हलमै पुग्नु पर्ने हुन्छ ।
चलचित्र ‘I am जितबहादुर’ले तपाईंलाई निराश बनाउँने छैन भन्ने हाम्रो मान्यता रहेको छ । किनभने यो चलचित्रको यात्राले तपाईंलाई सपना देख्न, सपनाको लागि लगातार भिड्न, सम्बन्धका सुन्दरताहरू र केही विकृतिहरू लगायतसँग साक्षात्कार गराउँने छ ।
यदि तपाईं स्थापित पेसाकर्मी हो भने तपाईंलाई आफनै अनुभूतिहरूको पूनः ताजगीकरण गराउँने छ र, यदि तपाईं आफ्नो पेसाको सुरूवातमा हुनुहुन्छ या विद्यार्थी हुनुहुन्छ भने तपाईंलाई उत्प्रेरणाका बाछिटाहरूले उद्वेलित र उकुसमुकुस बनाइदिनेछन् । सायद तपाईंको मन र मष्तिस्कमा छाप छोड्ने छ, मेरो जस्तै ।
अँ, साँच्ची!
एउटा कुरा त झण्डै बिर्सेछु !
चलचित्रको सेकेन्ड हाफपछि अन्त्यसम्ममै लगातार जस्तै आउने क्यामियो कलाकारहरूको लस्करले तपाईंलाई नेपाली चलचित्र इतिहासको एउटा गज्जबको झलक चैं दिनेछ । सायद यो चैं निर्माता, निर्देशकले पस्केको बोनस पो थियो कि!अस्तु!
ट्रेलर:
प्रकाशित मिति: ६ असार २०८३, शनिबार














प्रतिक्रिया