काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुल्क र प्रक्रिया सार्वजनिक गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले शनिबार सूचना जारी गर्दै विभिन्न पदका लागि लाग्ने शुल्क, आवश्यक प्रस्तावक, समर्थक तथा कागजातबारे जानकारी दिएको हो।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार सभापति पदका लागि उम्मेदवारी शुल्क ५१ हजार रुपैयाँ तोकिएको छ। सभापति पदका उम्मेदवारका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरिएको छ।
त्यसैगरी, पदाधिकारी पदका लागि ४१ हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ। पदाधिकारी र केन्द्रीय सदस्य दुवै पदका लागि १ जना प्रस्तावक र २१ जना समर्थक हुनुपर्ने व्यवस्था गरिएको छ।
आयोगका अनुसार उम्मेदवारका प्रस्तावक र समर्थक बस्ने व्यक्तिहरू प्रतिनिधि नामावली सूचीमा समावेश भएको हुनुपर्नेछ।
उम्मेदवारीका लागि आवश्यक कागजातहरू: १. भरिएको उम्मेदवारी मनोनयन पत्र फाराम
२. उम्मेदवारी शुल्क बुझाएको नगदी रसिद वा बैंक भौचर
३. आफूलाई कुनै अनुशासन कारबाही नपरेको स्वघोषणापत्र
४. पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि
५. २ प्रति पासपोर्ट साइजको फोटो
प्रकाशित मिति: ६ असार २०८३, शनिबार












प्रतिक्रिया