नेपाली राजनीतिको आकाशमा वैकल्पिक राजनीतिको बलियो सम्भावना बोकेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले आफ्नो इतिहासकै सबैभन्दा महत्त्वपूर्ण मोडमा उभिएको छ। आम निर्वाचनमा प्राप्त अभूतपूर्व जनसमर्थन र छोटो समयमै दुई तिहाइ बहुमतको शक्तिशाली सरकारको नेतृत्व गर्ने ऐतिहासिक अवसरले पार्टीलाई सत्ताको शिखरमा त पुर्याएको छ, तर यससँगै चुनौतीको ठूलो पहाड पनि खडा गरिदिएको छ। यो अवस्थामा आयोजना हुन गइरहेको पहिलो ऐतिहासिक महाधिवेशन केवल एउटा राजनीतिक औपचारिकता वा नेतृत्व चयनको खेल मात्र होइन; यो रास्वपाको वैचारिक स्पष्टता, साङ्गठनिक सुदृढीकरण र दीर्घकालीन अस्तित्व रक्षाको कडा अग्निपरीक्षा हो।
इतिहास साक्षी छ कि विश्व राजनीतिमा असाधारण र द्रुत उदय भएका कतिपय शक्तिहरू विचारको जग कमजोर हुँदा र शक्तिको दम्भमा जनअपेक्षा भुल्दा इतिहासकै पानाबाट मेटिएका छन्। जर्मनीको नाजी दल र इटालीको फासिस्ट दलको उग्र रूप मात्र होइन, समकालीन विश्वमा श्रीलङ्काको पोदुजना पेरामुना वा ग्रीसको सिरिजा दलले भोगेको तीव्र अवसान नेपाली राजनीतिका लागि समेत ठूलो पाठ हो। तसर्थ, रास्वपाले यी विश्वव्यापी राजनीतिक उतारचढाव र पतनका कारणहरूलाई ऐनाका रूपमा हेर्नुपर्छ। सत्ताको जोडघटाउ र क्षणिक लोकप्रियता भन्दा माथि उठेर मुलुकलाई सही दिशा दिने अचूक एजेन्डा यसै महाधिवेशनबाट तय गरिनु आजको मुख्य आवश्यकता हो।
यो महाधिवेशनले रास्वपालाई तदर्थवादबाट मुक्त गरी पूर्ण लोकतान्त्रिक र संस्थागत जगमा उभ्याउनेछ भन्ने आम कार्यकर्ता र शुभचिन्तकहरूको विश्वास छ। पार्टीभित्र मौलाउन सक्ने सम्भावित व्यक्तिवाद, गुटबन्दी र आन्तरिक असन्तुष्टिलाई लोकतान्त्रिक विधिबाटै व्यवस्थापन गर्दै बलियो साङ्गठनिक एकता प्रदर्शन गर्नु अहिलेको अनिवार्य सर्त हो। संसद्मा सशक्त भूमिका निर्वाह गरेर सरकारको नेतृत्वसम्म पुगेको दलले अब सस्तो नाराबाजी (पपुलिजम) लाई त्यागेर परिपक्व, जिम्मेवार र डेलिभरीमुखी शासकीय शैली अपनाउनुको विकल्प छैन।
ऐतिहासिक पाठ र आन्तरिक सजगता
विश्व राजनीतिको इतिहासलाई नियाल्दा तीव्र गतिमा उदाएर दुई तिहाइको शक्ति आर्जन गरेका दलहरू जति चाँडो सत्तामा पुगे, त्यति नै छोटो समयमा ऐतिहासिक पतनको सिकार भएका छन्। चाहे त्यो लोकतान्त्रिक संस्था सखाप पारेर दोस्रो विश्वयुद्ध निम्त्याउने हिटलरको नाजी दल होस् वा आफ्नै उग्र आर्थिक प्रयोगले देश सखाप पार्ने पोलपोटको खमेर रुज, सबैको पतनको मूल कारण शक्तिको अत्यधिक केन्द्रीकरण नै थियो। समकालीन समयमा श्रीलङ्कामा राजपाक्षे परिवारको दुई तिहाइ बहुमत र जनप्रिय नारा क्षणभरमै कसरी धुलोमा मिल्यो र जनता सडकमा उत्रिए भन्ने कुरा रास्वपाका लागि सबैभन्दा ठूलो चेतवनी हुनुपर्छ।
इजिप्टमा मुस्लिम ब्रदरहुडको स्वतन्त्रता न्याय दलले जनभावना विपरित धार्मिक एजेन्डा लाद्न खोज्दा र भेनेजुएलामा युनाइटेड सोसलिस्ट दलले जथाभाबी उद्योगहरूको राष्ट्रियकरण गर्दा मुलुकले महाविपत्ति भोग्नुपर्यो। जापानमा ५० वर्ष पुरानो दल ढलाएर दुई तिहाइ ल्याएको डेमोक्रेटिक पार्टी संकट व्यवस्थापनमा चुकेकै कारण तीन वर्षमै इतिहासबाट किनारा लाग्यो। यी सबै उदाहरणले के स्पष्ट पार्छन् भने, जनमत सधै एउटै रहँदैन। जनताले जति चाँडो सत्ताको चाबी सुम्पिन्छन्, अपेक्षा पूरा नभए र शासकहरूमा दम्भ पलाएमा त्यति नै निर्ममता पूर्वक सडकमा पछारिदिन्छन्।
तसर्थ, राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइको यो बलियो जगलाई शक्तिको मात वा दम्भका रूपमा लिनु आत्मघाती हुनेछ। पुराना दलहरूको अर्कमण्यता र भ्रष्टाचारबाट आजित भएका नेपाली जनताले यस दललाई वैकल्पिक आशाको केन्द्र मानेका हुन्। यदि यो दल पनि तिनै पुराना शक्तिहरूको पदचापमा हिड्न थाल्यो भने जनआक्रोशको ज्वाला यसका लागि झन् बढी घातक बन्ने निश्चित छ। इतिहासका यी गम्भीर भूलहरूबाट पाठ सिक्दै रास्वपाले सत्ताको आयु भन्दा पनि नीतिको स्थायित्व र जनअपेक्षाको कदर गर्ने आन्तरिक संयन्त्र बनाउनै पर्छ।
पार्टीभित्र ‘पपुलिजम’ को खेती गरेर क्षणिक ताली बजाउने प्रवृत्तिलाई निरुत्साहित गरिनुपर्छ। जबसम्म राज्यका अंगहरू बलिया हुँदैनन् र विधिको शासन स्थापित हुँदैन, तबसम्म व्यक्तिको लोकप्रियताले मात्र व्यवस्था चल्न सक्दैन। इतिहासमा भएका राजनीतिक डिजास्टर (विपत्ति) हरूको मुख्य जड भनेकै संस्थागत निर्णय प्रक्रियाको अन्त्य र व्यक्तिपूजाको सुरुवात हो। रास्वपाले आफूलाई यो चक्रव्यूहबाट जोगाउनका लागि महाधिवेशनलाई एउटा वैचारिक शुद्धीकरण र आत्मसमीक्षाको महान् अवसरका रूपमा उपयोग गर्नुपर्छ।
सत्तामा पुगेपछि शासकीय दम्भका कारण सञ्चारमाध्यम, नागरिक समाज र प्रतिपक्षका आलोचना सुन्न छाड्ने रोग सबैभन्दा खतरनाक हुन्छ। पेरुका अल्बर्टो फुजिमोरीले सुरुमा राम्रो काम गरे पनि पछि संसद् भङ्ग गरी निरंकुश बन्दा अन्ततः जेलको बास भयो। रास्वपाले आफ्ना हरेक पाइलाहरू पारदर्शी, कानुन सम्मत र आलोचनालाई रचनात्मक रूपमा स्वीकार गर्ने खालको बनाउनुपर्छ। इतिहासका यी काला पानाहरूलाई पल्टाएर हेर्दै वर्तमानमा आफूलाई जिम्मेवार बनाउनु नै दलको दीर्घकालीन जीवनको ग्यारेन्टी हो।
वैचारिक परिपक्वता र मार्गचित्र
राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाकालदेखि नै वैचारिक रूपमा स्पष्ट नभएको र केवल सेन्टिमेन्ट (भावना) मा चलेको आरोप प्रतिपक्षीहरूले लगाउँदै आएका छन्। यो पहिलो महाधिवेशन त्यो भ्रम र आरोपलाई चिर्ने सबैभन्दा उपयुक्त वैधानिक थलो हो। पार्टीले अब ‘वाद’ र ‘सिद्धान्त’ को परम्परागत परिभाषामा मात्र नअल्झिएर नेपालको भू-राजनीतिक संवेदनशीलता र सामाजिक यथार्थ सुहाउँदो मध्यमार्गी राजनीतिक दर्शन स्पष्ट रूपमा अघि सार्नुपर्छ। हामी कल्याणकारी राज्य व्यवस्था, सामाजिक न्याय र खुला बजार अर्थतन्त्रको कुन विन्दुमा उभिन्छौ भन्ने सैद्धान्तिक व्याख्या महाधिवेशनबाटै हुनुपर्दछ।
वैचारिक अस्पष्टताकै कारण ग्रीसको सिरिजा दलले जनतासँग एउटा बाचा गर्यो तर सत्तामा पुगेपछि अन्तर्राष्ट्रिय दबाब धान्न नसकेर ठीक विपरित सम्झौता गर्न बाध्य भयो, जसले गर्दा सो दलको अस्तित्व नै संकटमा पर्यो। रास्वपाले पनि संसद्मा रहँदा र सरकारमा जाँदा आफ्ना अडानहरूमा विरोधाभास देखाउनु हुँदैन। राष्ट्रिय सार्वभौमिकता, असंलग्न परराष्ट्र नीति र संविधानको रक्षाका सवालमा दलको अकाट्य र अटल दृष्टिकोण के हो भन्ने कुरा यसै महाधिवेशनको दस्तावेजमा कोरिनुपर्छ।
पार्टीको राजनीतिक सिद्धान्त केवल नारामा मात्र सीमित नभएर कार्यदिशामा झल्कनुपर्छ। शिक्षा, स्वास्थ्य र रोजगार जस्ता नागरिकका मौलिक हकहरूमा राज्यको दायित्व कस्तो हुने र निजी क्षेत्रको भूमिका के हुने भन्नेबारे स्पष्ट नीतिगत मार्गचित्र आवश्यक छ। उत्पादनमुखी अर्थतन्त्रको विकास र युवा पलायन रोक्ने ठोस योजना नै पार्टीको मूल सिद्धान्त बन्नुपर्छ। वैचारिक रूपमा परिपक्व नभएको दलले जतिसुकै ठूलो बहुमत पाए पनि त्यो बालुवाको जगमा ठड्याइएको महल जस्तै साबित हुनेछ।
यो महाधिवेशनमा देशैभरिबाट आएका हजारौ प्रतिनिधिहरू बीच खुला र गम्भीर वैचारिक मन्थन हुन आवश्यक छ। नेपालको संघीयताको स्वरूप, प्रशासनिक पुनर्संरचना र न्यायपालिकाको निष्पक्षताका बारेमा पार्टीको धारणा संसद्मा मात्र होइन, महाधिवेशनको बन्द सत्रबाटै पारित गराउनुपर्छ। विचार विहीनताको भीड भन्दा विचार सहितको संगठित शक्ति नै सधै दिगो रहन्छ। त्यसैले, पार्टीलाई एउटा निश्चित राजनीतिक र आर्थिक दर्शनको जगमा उभ्याएर यसको पहिचानलाई संस्थागत गर्नैपर्छ।
अन्ततः, वैचारिक परिपक्वताले नै पार्टीका कार्यकर्ताहरूमा अनुशासन र प्रतिबद्धता पैदा गर्दछ। कुनै एउटा नेताको अनुहार हेरेर मात्र पार्टीमा जोडिएका कार्यकर्ताहरू विचारको सूत्रमा नबाँधिएसम्म भोलि संकटका बेला टिकिरहन सक्दैनन्। सोभियत सङ्घमा बोल्सेभिक दलले वैचारिक जडता र आन्तरिक लोकतन्त्रको अभावकै कारण आफ्नो पतन बहोर्नुपर्यो। रास्वपाले गतिशील र समयानुकूल विचारको विकास गर्दै दक्षिणपन्थी र उग्र वामपन्थी चिन्तन भन्दा भिन्न, विशुद्ध लोकतान्त्रिक र प्रगतिशील जग बसाल्नुपर्छ।
साङ्गठनिक सुदृढीकरण र नेतृत्व
कुनै पनि राजनीतिक दलको मेरुदण्ड भनेको त्यसको साङ्गठनिक संरचना र तल्लो तहसम्म फैलिएको कार्यकर्ताको सञ्जाल हो। रास्वपा अहिलेसम्म तदर्थ समितिहरू र केन्द्रीय निर्देशनका आधारमा चल्दै आएकोमा अब यस महाधिवेशन मार्फत वडा, पालिका, निर्वाचन क्षेत्र र प्रदेश हुँदै केन्द्रसम्म निर्वाचित एवं अनुमोदित समितिहरू निर्माण गरिनुपर्छ। पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत नबनाई बाहिर लोकतन्त्रको वकालत गर्नु ढोंग मात्र हुनेछ। तसर्थ, गुटबन्दी र पकेटका मानिसहरू भर्ती गर्ने पुराना दलहरूको रोगबाट मुक्त रहँदै निष्पक्ष निर्वाचन प्रक्रियाद्वारा साङ्गठनिक सुदृढीकरण गर्नुपर्छ।
नेतृत्व चयनका क्रममा पार्टीले केवल भाषणबाज र लोकप्रिय देखिने अनुहारहरू मात्र होइन, बरु बौद्धिक, दूरदर्शी, सांगठनिक क्षमता भएका र निष्कलङ्क पृष्ठभूमि भएका व्यक्तिहरूलाई अगाडि सार्नुपर्छ। नेतृत्व यस्तो होस् जसमा संकट व्यवस्थापन गर्ने उच्च क्षमता होस्, जसले सामूहिक निर्णय प्रक्रिया (कलेक्टिभ लिडरसिप) मा पूर्ण विश्वास गरोस् र कार्यकर्ताको भावनालाई उच्च कदर गरोस्। व्यक्तिवादी सोच बोकेको नेतृत्वले अन्ततः दललाई निरंकुशतातिर धकेल्छ, जसको उदाहरण इतिहासमा मुसोलिनी र हिटलरको उदय र पतनबाट प्रष्ट हुन्छ।
नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधतालाई सम्बोधन गर्न सक्ने समावेशी नेतृत्व निर्माणमा यो महाधिवेशन केन्द्रित हुनुपर्दछ। युवाहरूको बाहुल्यता रहेको यस दलमा अनुभवी र ऊर्जावान् युवा पुस्ताको सन्तुलन मिलाउनु आवश्यक छ। पार्टीभित्र अनुशासन कायम गर्नका लागि शक्तिशाली र स्वायत्त अनुशासन आयोगको व्यवस्था गरिनुपर्छ। नेताहरूको सम्पत्ति विवरण र कार्यसम्पादनको नियमित मूल्याङ्कन गर्ने आन्तरिक प्रणाली विकास गरिएमा मात्र कार्यकर्ता र जनतामा पार्टीप्रतिको भरोसा अटुट रहन्छ।
साङ्गठनिक जग बलियो नहुँदा सानातिना आन्तरिक विवादले पनि पार्टी फुट्ने र राष्ट्रिय राजनीतिबाटै हराउने जोखिम रहन्छ। पेरुको क्याम्बियो ९० दल संस्थागत हुन नसकेकै कारण फुजिमोरीको पतनसँगै समाप्त भयो। रास्वपाले आफ्ना कार्यकर्ताहरूलाई नियमित राजनीतिक तथा सामाजिक प्रशिक्षण दिने व्यवस्था गर्नुपर्छ। महाधिवेशनले पार्टीका विभागहरूलाई सक्रिय बनाउने र तिनमा विषय विज्ञहरूलाई जिम्मेवारी दिने व्यवस्था मिलाउनुपर्छ, जसले गर्दा पार्टीको साङ्गठनिक निर्णयहरू वैज्ञानिक र तथ्यमा आधारित हुन सकून्।
नेतृत्व चयनको यो प्रक्रिया स्वच्छ र मर्यादित हुनुपर्छ, जसले राष्ट्रिय राजनीतिमै नयाँ मापदण्ड (बेन्चमार्क) स्थापित गर्न सकोस्। मत किन्ने, गुट बनाउने र केन्द्रीय नेतृत्वको चाकडी गर्ने प्रवृत्तिलाई पूर्ण रूपमा निषेध गरिनुपर्छ। प्रत्येक कार्यकर्ताले आफ्नो विवेक प्रयोग गरेर पार्टीको नीति र सिद्धान्तलाई अगाडि बढाउन सक्ने सक्षम सारथि छान्न पाउनुपर्छ। यसरी निर्वाचित हुने नेतृत्वले नै दुई तिहाइको यो विशाल जनमतलाई सही ढङ्गले परिचालन गर्दै मुलुकलाई समृद्धिको बाटोमा डोर्याउन सक्छ।
जनमुखी सरकार र सेवा प्रवाह
दुई तिहाइको शक्तिशाली सरकारको नेतृत्व गरिरहेको रास्वपाका लागि अब बहानाबाजी गर्ने वा अरूलाई दोष देखाएर उम्कने ठाउँ कति पनि छैन। जनताले संसद् र सडक दुवै ठाउँमा यस दलको परीक्षण गरिसकेका छन् र अब सिंहदरबारबाट ठोस परिणाम (डेलिभरी) खोजेका छन्। सरकारको मूल मन्त्र ‘जनमुखी शासन र सुशासन’ हुनुपर्दछ। प्रशासनिक ढिलासुस्तीको अन्त्य गर्दै सरकारी कार्यालयहरूबाट दिइने सेवा प्रवाहलाई प्रविधिमैत्री, झन्झट रहित र पारदर्शी बनाउनु सरकारको पहिलो र मुख्य दायित्व हो।
भ्रष्टाचारको पूर्ण उन्मूलन बिना सुशासनको कल्पना गर्न सकिदैन। विगतका ठूला-ठूला भ्रष्टाचारका फाइलहरूलाई बिना कुनै राजनीतिक पूर्वाग्रह निष्पक्ष रूपमा खोलेर दोषीहरूलाई कानुनी कठघरामा उभ्याउने हिम्मत यो सरकारले देखाउनै पर्छ। राजनीतिक नियुक्तिहरूमा भागबन्डा गर्ने र आफ्ना मान्छे भर्ती गर्ने कुप्रथालाई तोड्दै ‘मेरिटोक्रेसी’ (योग्यता प्रणाली) का आधारमा सक्षम र विज्ञ व्यक्तिहरूलाई जिम्मेवारी दिनुपर्छ। राज्यका हरेक संयन्त्रमा जनताको सहज पहुँच हुनु नै जनमुखी हुनुको प्रमाण हो।
मुलुकको आर्थिक संकट निवारणका लागि सरकारले तत्कालै उत्पादनमुखी र रोजगारी मूलक आर्थिक प्याकेजहरू कार्यान्वयनमा ल्याउनुपर्छ। स्वदेशी उद्योगहरूको संरक्षण, कृषिमा आधुनिक प्रविधिको प्रयोग र बजारको ग्यारेन्टी तथा वैदेशिक लगानी भित्र्याउन कडा कानुनी सुधारहरू गरिनुपर्छ। युवा पलायनको विकराल समस्यालाई सम्बोधन गर्न देशभित्रै उद्यमशीलताको वातावरण निर्माण गर्नु आवश्यक छ। महँगी, मिसावट र कालोबजारी नियन्त्रणमा बजारमा राज्यको बलियो र कडा उपस्थिति देखिनै पर्छ।
शिक्षा र स्वास्थ्य जस्ता आधारभूत नागरिक अधिकारहरूलाई व्यापारिकरणबाट मुक्त गरी सर्वसाधारणको सहज र सस्तो पहुँचभित्र ल्याउन सरकारले विशेष नीति लिनुपर्छ। पपुलिजम र सस्तो सञ्चार-माध्यमको हेडलाइन बन्ने होडबाजी भन्दा माथि उठेर दीर्घकालीन प्रभाव पार्ने राष्ट्रिय गौरवका आयोजनाहरू र विकासका पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्नुपर्छ। जनताले दैनिक जीवनमा महसुस गर्न सक्ने गरी राज्यको उपस्थिति र परिवर्तनको आभास दिन सके मात्र सरकारको सार्थकता पुष्टि हुनेछ।
अन्ततः, दुई तिहाइको यो सरकारले छिमेकी राष्ट्रहरू र अन्तर्राष्ट्रिय समुदायसँग सन्तुलित, परिपक्व र राष्ट्रहित अनुकूलको कूटनीतिक सम्बन्ध कायम राख्नुपर्छ। कुनै पनि वैदेशिक सहयोग वा ऋण स्वीकार गर्दा राष्ट्रिय सार्वभौमिकता र दूरगामी हितलाई केन्द्रमा राखिनुपर्छ। सरकार सञ्चालनका क्रममा जनता र सरोकारवालाहरूसँग निरन्तर संवादमा रहँदै नागरिक स्वामित्व (सिटिजन ओनरसिप) लाई आत्मसाथ गर्नुपर्छ। रचनात्मक आलोचना र सुझावहरूलाई आत्मसात गर्दै जनमुखी र पारदर्शी ढङ्गले काम गरेमा मात्र यो ऐतिहासिक अवसर मुलुकको वास्तविक रूपान्तरणको कोसेढुङ्गा बन्नेछ।
निष्कर्ष, सुझाव र शुभकामना
राष्ट्रिय स्वतन्त्र पार्टीको यो पहिलो ऐतिहासिक महाधिवेशन केवल एउटा राजनीतिक दलको आन्तरिक गतिविधि मात्र नभएर समग्र नेपालको वैकल्पिक राजनीतिको भविष्य निर्धारण गर्ने महत्त्वपूर्ण मोड हो। इतिहासले सुम्पिएको यो असाधारण जिम्मेवारी र दुई तिहाइको जनमतलाई रास्वपाले मुलुकको शासकीय सुधार र आर्थिक समृद्धिका लागि स्वर्ण अवसरका रूपमा उपयोग गर्नुपर्छ। विश्वका ठूला दलहरूको तीव्र उदय र लज्जास्पद पतनका कथाहरूबाट गम्भीर पाठ सिक्दै पार्टीभित्र दम्भ, व्यक्तिवाद र सस्तो लोकप्रियताको चिन्तनलाई सदाका लागि अन्त्य गरिनु नै आजको मुख्य सुझाव हो।
पार्टीका सम्पूर्ण आदरणीय प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूमा मेरो रचनात्मक सुझाव छ कि यो महाधिवेशनलाई गुटबन्दी र शक्ति प्रदर्शनको थलो नमनाएर वैचारिक पुनर्जागरण र नीतिगत मन्थनको पवित्र केन्द्र बनाइयोस्। संसद् र सरकार दुवै मोर्चामा जनताको वास्तविक आवाज बन्न सक्ने, नैतिक रूपमा उच्च, बौद्धिक र धरातलीय यथार्थ बुझेको समावेशी नेतृत्व चयन गर्न विवेकको प्रयोग होस्। उग्र नाराहरू भन्दा माथि उठेर कार्यान्वयन योग्य जनमुखी नीति, भ्रष्टाचार विरोधी कडा कदम र देशमै रोजगारी सिर्जना गर्ने आर्थिक एजेन्डालाई दलको मूल दर्शन बनाइयोस्।
अन्तमा, रास्वपाको यस पहिलो ऐतिहासिक महाधिवेशनको भव्य र ऐतिहासिक सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु। यो महाधिवेशनले नेपाली राजनीतिमा पुराना विकृतिहरूको सिको गर्ने भन्दा पनि एक सर्वथा नवीन, मर्यादित र उच्च राजनीतिक संस्कारको मानक स्थापित गर्न सकोस्। सत्तामा रहँदा जबाफदेही र सडकमा रहँदा जनमुखी हुने प्रण गर्दै देशको सार्वभौमिकता, सुशासन र नागरिकको समृद्धिका लागि यो दल सधै प्रतिबद्ध रहोस्। महाधिवेशनले तय गर्ने मार्गचित्रले मुलुकलाई नयाँ दिशा दियोस् र सम्पूर्ण नेतृत्व वर्गमा विवेकपूर्ण निर्णय लिने सामर्थ्य मिलोस्, यही नै मेरो शुभकामना छ।
(लेखक नेपाली सेनाका पूर्व सैनिक अधिकृत र राजनीतिशास्त्रका अध्येता हुन्।)
प्रकाशित मिति: ७ असार २०८३, आइतबार












प्रतिक्रिया