नेपाली राजनीतिमा मार्क्सवाद, समाजवाद, उदारवाद र पुँजीवाद जस्ता बाह्य राजनीतिक सिद्धान्तहरूको व्यापक चर्चा र प्रयोग हुँदै आएको भए तापनि फ्रायडवादको मनोवैज्ञानिक आयाम सधै छायामा परेको छ। अस्ट्रियाका विश्वप्रसिद्ध मनोविश्लेषक सिग्मन्ड फ्रायडद्वारा प्रतिपादित यो दृष्टिकोणले मानव मस्तिष्कको अचेतन अर्थात् अव्यक्त तहलाई राजनीतिको मूल केन्द्रमा राखेर व्याख्या गर्दछ। उन्नाइसौ शताब्दीको उत्तरार्ध र बीसौ शताब्दीको सुरुवातको युरोपेली औद्योगिक समाज, विश्वयुद्धको त्रासदी र कठोर सामाजिक बन्धनको पृष्ठभूमिमा फ्रायडले यो नौलो विचार अगाडि सारेका थिए। उनले मानिसका बाह्य तर्क, चेतना र आर्थिक स्वार्थ भन्दा बढी उसका भित्री दमित इच्छाहरू, बाल्यकालका मानसिक छाप र अव्यक्त डरले नै राजनीतिक व्यवहार एवं निर्णयहरूलाई गुप्त रूपमा डोऱ्याउने अकाट्य तथ्य स्थापित गरे।

परम्परागत राजनीतिशास्त्रले मानवलाई एक विवेकशील, सचेत र आर्थिक हित मात्र हेर्ने प्राणी मान्दछ, तर फ्रायडवादले यो स्थापित मान्यतालाई पूर्ण रूपमा चुनौती दिन्छ। फ्रायडका अनुसार कुनै राजनीतिक दलप्रतिको अन्धभक्ति, सर्वमान्य नेताप्रतिको आकर्षण वा स्थापित व्यवस्था विरुद्धको आक्रोश केवल आर्थिक वर्ग वा बाह्य चेतनाको उपज मात्र होइन। यो त मानिसको भित्री मनमा लुकेका प्राकृतिक जैविक प्रवृत्ति, जस्तै – सिर्जनात्मक जीवन शक्ति र विनाशकारी आत्म-घाती प्रवृत्तिको सामाजिक रूपान्तरण मात्र हो। समाज र राज्यले नागरिकका प्राकृतिक इच्छाहरूलाई जुन रूपमा दमन गर्छन्, त्यही दमन नै कालान्तरमा मानसिक असन्तोष, सामाजिक अशान्ति र विद्रोह बनेर सडकमा ओर्लन्छ।

आजको जटिल वैश्विक परिवेशमा यस अव्यक्त मनोविज्ञानको अध्ययन नेपाली राजनीतिका लागि झन् बढी सान्दर्भिक र संवेदनशील बनेको छ। नेपालमा हालैका वर्षहरूमा देखिएका अप्रत्याशित भीडका आवेगात्मक व्यवहार, स्थापित नेतृत्वप्रतिको चरम घृणा र प्रविधिको माध्यमबाट फैलिने आवेगात्मक लहरहरूलाई बुझ्न यो मनोवैज्ञानिक औजार अपरिहार्य छ। जबसम्म हामी नागरिकका आर्थिक र राजनीतिक मागका पछाडि लुकेका उनीहरूका आन्तरिक मानसिक संवेगहरू, असुरक्षा र पहिचानको छटपटीलाई बुझ्दैनौ, तबसम्म आधुनिक राजनीतिको दिशा र चरित्रलाई ठम्याउन असम्भव प्रायः हुन्छ। बाह्य रूपमा आर्थिक देखिने आन्दोलनहरूको भित्री जग वास्तवमा मानवीय भावना र मनोविज्ञानमै टिकेको हुन्छ।

फ्रायडवादको स्वरूप, विशेषता र मुख्य सिद्धान्तहरू

राजनीतिक फ्रायडवादको मूल स्वरूप मानव व्यवहारका अदृश्य, अनियन्त्रित र आन्तरिक संवेगहरूको खोजी गर्नु हो। यसको पहिलो मुख्य विशेषता भनेको राजनीतिक तर्कशीलताको पूर्ण अस्वीकार हो; अर्थात्, नागरिकहरूले मतदान गर्दा वा आन्दोलनमा होमिदा सधै नाफा-घाटाको हिसाब गर्दैनन्, बरु आफ्नो अव्यक्त डर वा संवेगबाट सञ्चालित हुन्छन्। दोस्रो विशेषता, यसले राजनीतिमा देखिने व्यक्तिपूजा वा विशिष्ट नेतृत्वप्रतिको आशक्तिलाई बुझाउँछ, जहाँ जनताले कुनै पनि शक्तिशाली नेतामा आफ्नो संरक्षक पिताको छवि देख्छन् र बाल्यकालमा पिताबाट खोजिने सुरक्षा वयस्क उमेरमा नेताबाट अपेक्षा गर्छन्। तेस्रो विशेषता भनेको सामूहिक भीडको मनोविज्ञान हो, जहाँ भीडमा मिसिएपछि व्यक्तिको आफ्नै विवेक समाप्त हुन्छ र ऊ भीडको साझा अव्यक्त संवेगको हिस्सा बन्छ। चौथो विशेषता, यसले समाजमा काल्पनिक शत्रुको सिर्जना गर्ने प्रवृत्तिलाई व्याख्या गर्छ, जहाँ मानिस आफ्नो असफलताको दोष अर्को समुदाय वा विदेशी शक्तिमाथि थुपारेर आत्म-सन्तुष्टि खोज्छ।

यस सिद्धान्तका तीनवटा मुख्य खम्बाहरू छन्: आदिम पाशविक इच्छाहरू, व्यावहारिक चेतना र सामाजिक एवं नैतिक बन्धन। राजनीतिमा जब सामाजिक र नैतिक बन्धन अत्यधिक कठोर हुन्छ र नागरिकका स्वाभाविक चाहनालाई दबाउँछ, तब आदिम इच्छाहरू विद्रोही बनेर बाहिर निस्कन्छन्। फ्रायडले व्याख्या गरे अनुसार, सभ्यता र कानुनले मानिसका प्राकृतिक आवेगहरूलाई बाँध्ने हुनाले समाजमा सधै एक प्रकारको आन्तरिक मानसिक तनाव रहिरहन्छ। यही मानसिक तनाव नै राजनीतिक क्रान्ति र सामाजिक आन्दोलनहरूको मुख्य इन्धन बन्न पुग्छ।

अर्को मुख्य सिद्धान्त दमन र रूपान्तरण हो, जसले राज्यले नागरिकको आवाज दमन गर्दा त्यो आक्रोश कसरी भित्री मनमा संचित हुन्छ र उपयुक्त मौका पाउनासाथ हिंसात्मक दङ्गा वा क्रान्तिको रूपमा विस्फोट हुन्छ भन्ने देखाउँछ। यसैगरी, फ्रायडवादले मृत्यु प्रवृत्तिको सिद्धान्त मार्फत समाजमा हुने युद्ध, जातीय हिंसा र विनाशकारी आन्दोलनहरूलाई मानवको भित्री आत्म-विनाशकारी प्रवृत्तिको राजनीतिक प्रकटीकरण मान्दछ। यो सिद्धान्तले राजनीतिक दलहरूले गर्ने प्रचार र नाराले कसरी मानिसको चेतनालाई भन्दा बढी उसको अव्यक्त भावनालाई उत्तेजित बनाउँछ भन्ने कुराको सुक्ष्म विश्लेषण गर्दछ।

यस व्यवस्थामा सामाजिक संस्थाहरूले व्यक्तिलाई सभ्य बनाउने बहानामा उसका प्राकृतिक स्वतन्त्रताहरू खोस्ने हुनाले नागरिकमा राज्यप्रति एक प्रकारको निरन्तर वितृष्णा पैदा भइरहन्छ। यसरी सिर्जित वितृष्णालाई जब कुनै चतुर राजनीतिक शक्तिले आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्छ, तब समाजमा ठूला-ठूला उथलपुथल आउँछन्। त्यसैले, यो सिद्धान्तले राजनीतिक सङ्घर्षको जग आर्थिक धरातलमा मात्र नभई मानवीय मस्तिष्कको गहिरो संवेगात्मक तहमा खडा भएको दाबी गर्छ। संक्षेपमा भन्नुपर्दा, फ्रायडवादले राजनीतिलाई केवल संसद्, नीति र लिखित कानुनको घेरामा मात्र सीमित नराखी मानव मस्तिष्कको गहिरो, अँध्यारो र रहस्यमयी गुफाभित्र खोज्ने अद्वितीय प्रयास गर्दछ।

प्राविधिक युगमा अव्यक्त मनोविज्ञानको प्रयोग

आजको आधुनिक डिजिटल र प्राविधिक युगमा यस अव्यक्त मनोविज्ञानको सान्दर्भिकता बीसौ शताब्दीमा भन्दा कयौ गुणा बढेर गएको छ। सामाजिक सञ्जालका सञ्चालन प्रणालीहरू पूर्ण रूपमा मानवीय मानसिक कमजोरी र अव्यक्त तहको अध्ययनमा आधारित भएर निर्माण गरिएका छन्। आधुनिक सञ्चार माध्यमहरूले मानव मस्तिष्कको कमजोरी, जस्तै – छिट्टै उत्तेजित हुने, डराउने वा ईर्ष्या गर्ने बानीको गहिरो विश्लेषण गर्छन्। यी प्रविधिहरूले नागरिकलाई तथ्यपूर्ण र सन्तुलित सूचना दिने भन्दा पनि उनीहरूको भित्री संवेगलाई भड्काएर पर्दामा टाँसिइरहन बाध्य पार्छन्, जसले गर्दा आधुनिक राजनीति झन् बढी आवेगात्मक बन्दै गएको छ।

यो प्राविधिक मनोविज्ञानको प्रयोग मुख्य रूपमा ठूला व्यापारिक घराना, राजनीतिक रणनीतिकार र सत्ताधारी तथा विद्रोही दुवै पक्षका प्रचारकहरूले व्यापक रूपमा गरिरहेका छन्। आधुनिक राजनीतिक चुनावहरूमा सूचना प्रविधिको प्रयोग मार्फत जनताको भित्री डर र रुचिहरूको गोप्य सूची तयार पारिन्छ। उदाहरणका लागि, कुन नागरिक कुन कुरासँग डराउँछ वा कुन विषयमा बढी उत्तेजित हुन्छ भन्ने थाहा पाएर उसलाई त्यस्तै प्रकारका राजनीतिक विज्ञापन वा भ्रामक प्रचारहरू निरन्तर देखाइन्छ। यसरी सञ्चार माध्यम र रणनीतिकारहरूले नागरिकको सोच्ने क्षमता र स्वतन्त्र विवेकलाई अदृश्य रूपमा नियन्त्रण गरिरहेका हुन्छन्।

यसको प्रयोग विश्वका ठूला लोकतान्त्रिक मुलुकदेखि अधिनायकवादी व्यवस्थाहरूमा समेत सत्ता टिकाउन वा प्राप्त गर्नका लागि भइरहेको छ। चुनाव जित्नका लागि राजनीतिक दलहरूले नागरिकको भित्री मनमा रहेको आर्थिक असुरक्षा वा राष्ट्रिय स्वाभिमानको भावनालाई सिधै प्रहार गर्छन्। उनीहरूले तथ्य र तथ्याङ्क प्रस्तुत गर्नुको साटो भावनात्मक भिडियोहरू, राष्ट्रवादका चर्का नाराहरू र समाजलाई विभाजित गर्ने भाष्यहरू निर्माण गर्छन्। यस प्राविधिक युगमा नेताहरू अब केवल नीति निर्माता रहेनन्, उनीहरू डिजिटल सञ्चारको माध्यमबाट जनताको भित्री मनलाई नियन्त्रण गर्ने मानसिक इन्जिनियर जस्ता भएका छन्।

नागरिकहरूलाई आफ्नै नियन्त्रणमा राख्नका लागि प्रविधिको प्रयोग गरेर भय र आशको कृत्रिम वातावरण सिर्जना गरिन्छ, जसले गर्दा जनता सधै राज्यप्रति निर्भर रहून्। प्रविधिले मानिसहरूलाई एकातिर एकाङ्की बनाउँदै लगेको छ भने अर्कोतिर उनीहरू भित्रको असन्तोषलाई अनलाइन माध्यमबाट सङ्गठित रूपमा भड्काउने काम गरिरहेको छ। यसले गर्दा समाजमा रचनात्मक बहसको ठाउँ संवेगात्मक नाराहरूले लिएका छन्। अन्ततः, प्राविधिक युगको यो विकासले मानवीय विवेकलाई संवेगको बन्धक बनाएर राजनीतिक स्वार्थ सिद्ध गर्ने खेललाई झन् बढी तीव्र र अदृश्य बनाएको छ।

नेपालको युवा आन्दोलन र यसको वैश्विक स्वरूप

नेपालको राजनीतिक इतिहासमा विसं २०८२ सालको भदौ महिनामा भएको युवाहरूको आन्दोलन एक असाधारण र अभूतपूर्व मोड थियो। परम्परागत राजनीतिक दलहरूको संस्थागत झण्डामुनि नरही, सामाजिक सञ्जालका विभिन्न माध्यमहरूबाट स्वतःस्फूर्त रूपमा सडकमा ओर्लिएको यो युवा भीडको पछाडि पूर्ण रूपमा फ्रायडवादी मनोविज्ञानले काम गरेको देखिन्छ। यो आन्दोलन केवल नयाँ रोजगार वा नीतिको मागमा मात्र सीमित थिएन; यो त वर्षौदेखि पुराना नेताहरूको व्यवहार, कुशासन र गुम्सिएको सामाजिक बन्धनका कारण युवा मनमा जम्मा भएको चरम मानसिक असन्तुष्टिको सामूहिक विस्फोट थियो।

यस आन्दोलनमा फ्रायडले भने जस्तो सामूहिक भीडको मनोविज्ञान स्पष्ट रूपमा देखियो, जहाँ डिजिटल माध्यमले हजारौ अपरिचित युवाहरूलाई एउटै संवेगात्मक धरातलमा ल्याइदियो। युवाहरूले स्थापित नेतृत्व र राज्यका पुराना संयन्त्रहरूलाई आफ्नो भविष्यको मुख्य बाधक अर्थात् शत्रुका रूपमा प्रक्षेप गरे। पुराना राजनीतिक दलहरूले युवाको यो मानसिक आक्रोशलाई बुझ्न सकेनन्, किनभने उनीहरू अझै पनि पुराना आर्थिक र परम्परागत एजेन्डाहरू मात्र खोजिरहेका थिए। यस युवा आन्दोलनले प्रमाणित गरिदियो कि जब युवाहरूको भित्री मनमा रहेको पहिचान, आत्मसम्मान र स्वतन्त्रताको चाहनालाई राज्यले निरन्तर दबाउँछ, तब त्यसले कुनै पनि बेला स्थापित संरचनालाई ध्वस्त पार्ने तागत राख्छ।

वास्तवमा, यो नेपालको मात्र विशिष्ट समस्या होइन; आज संसारभरि नै परिवर्तित राजनीतिक आन्दोलनको नयाँ स्वरूपमा यो मनोविज्ञान हाबी भएको छ। विभिन्न देशहरूमा हुने आधुनिक युवा विद्रोहहरूमा कुनै ठोस संगठनात्मक ढाँचा, निश्चित नेतृत्व वा वैचारिक दस्तावेजहरू हुँदैनन्। ती आन्दोलनहरू मुख्य रूपमा सामाजिक सञ्जालबाट सिर्जित सामूहिक आवेग र भावनाबाट निर्देशित हुन्छन्। आधुनिक विश्व राजनीतिमा अब केवल भौतिक वा आर्थिक वर्ग मात्र आन्दोलनको कारण बन्दैन, बरु मानसिक उत्पीडन र पहिचानको संकट नै आन्दोलनको नयाँ र प्रमुख स्वरूप बनेर उदाएको छ।

युवाहरूको यो आन्दोलनले स्थापित राजनीतिक दलहरूको विचार विहीनता र संवाद हीनतालाई पूर्ण रूपमा नङ्गाइदिएको छ। यसले के देखाउँछ भने आधुनिक पुस्ता पुराना नारा र आश्वासनबाट सन्तुष्ट हुन सक्दैन, उनीहरूलाई तत्कालै मानसिक गौरव र व्यावहारिक परिवर्तन चाहिन्छ। विश्वभरिका शासकहरू अहिले यही युवा मनोविज्ञानको व्यवस्थापन गर्न नसकेर संकटमा परेका छन्। त्यसैले, आधुनिक राजनीतिक आन्दोलनहरूलाई बुझ्नका लागि आर्थिक सूचकाङ्क मात्र हेरेर पुग्दैन, युवा मस्तिष्कको भित्री असन्तोष र छटपटीको मापन गर्नु पनि उत्तिकै आवश्यक भइसकेको छ।

अव्यक्त राजनीतिको प्रभाव र नकारात्मक असर रोक्ने उपायहरू

राजनीतिमा यस मनोवैज्ञानिक दृष्टिकोणको प्रभावका दुवै सकारात्मक र नकारात्मक पक्षहरू रहेका छन्। सकारात्मक रूपमा हेर्दा, यसले राज्य र नेतृत्वलाई नागरिकको केवल पेट भर्ने अर्थात् आर्थिक माग मात्र होइन, उनीहरूको मानसिक आवश्यकता जस्तै – सम्मान, स्वतन्त्रता र पहिचानलाई पनि सम्बोधन गर्न बाध्य पार्छ। यसले राजनीतिलाई मानवीय र संवेदनशील बनाउन मद्दत गर्छ र कला, संस्कृति तथा मानसिक स्वास्थ्यको मुद्दालाई राज्यको नीतिभित्र समेट्न दबाब दिन्छ। तर, यसको नकारात्मक प्रभाव निकै भयावह छ; यसले राजनीतिमा लोकतान्त्रिक बहस र तर्कलाई विस्थापित गरेर चरम उत्तेजना, घृणा र सामाजिक ध्रुवीकरण फैलाउँछ। जब राजनीति भावना र आवेगको सङ्घर्ष बन्छ, तब समाजमा हिंसा बढ्छ र मुठ्ठीभर चलाख नेताहरूले जनताको अव्यक्त डरको फाइदा उठाएर सजिलै अधिनायकवादी व्यवस्था स्थापना गर्न सक्छन्।

यो प्राविधिक र मनोवैज्ञानिक प्रभावको नकारात्मक असरलाई काउन्टर गर्न अर्थात् रोक्न र समाजलाई सन्तुलित राख्न तत्काल केही रचनात्मक कदमहरू चाल्नुपर्ने देखिन्छ। पहिलो सुझाव, राज्य र शैक्षिक संस्थाहरूले नागरिकमा प्रविधि साक्षरता र आलोचनात्मक चेतको विकास गर्नुपर्छ। युवाहरूलाई सामाजिक सञ्जालमा देखिने सामग्रीहरूले कसरी उनीहरूको भावनासँग खेलबाड गरिरहेका छन् भन्ने कुरा पाठ्यक्रममै राखेर बुझाउनु आवश्यक छ। जब नागरिकले तथ्य र भ्रामक आवेगबीचको फरक छुट्याउन सक्छन्, तब उनीहरू अदृश्य मानसिक नियन्त्रणबाट मुक्त हुन सक्छन्।

दोस्रो सुझाव, राजनीतिक दल र राज्यका संयन्त्रहरूले आफ्नो परम्परागत कार्यशैलीलाई बदलेर युवा तथा नागरिकसँग प्रत्यक्ष र सहानुभूतिपूर्ण संवादको सुरुवात गर्नुपर्छ। युवाहरूको आन्तरिक असन्तोष, बेरोजगारीको डर र भविष्यप्रतिको अन्योलतालाई केवल आश्वासनमा सीमित नराखेर नीतिगत रूपमै सम्बोधन गरिनुपर्छ। तेस्रो र महत्त्वपूर्ण उपाय भनेको सञ्चार माध्यम र सामाजिक सञ्जालका सञ्चालन प्रणालीहरू माथि कानुनी नियमन र नैतिक बनाउनु हो। नागरिकको व्यक्तिगत विवरण संकलन गरेर उनीहरूको अव्यक्त मनलाई नियन्त्रण गर्ने व्यापारिक र राजनीतिक प्रयासहरूलाई कानुनद्वारा कडा प्रतिबन्ध लगाइनुपर्छ।

चौथो सुझाव, समाजमा मानसिक स्वास्थ्य र परामर्शका संयन्त्रहरूलाई तल्लो तहसम्म विस्तार गरिनुपर्छ ताकि नागरिकहरू आफ्नो व्यक्तिगत तनाव र आक्रोशलाई राजनीतिक हिंसामा परिणत गर्नुको साटो रचनात्मक रूपमा व्यवस्थापन गर्न सकून्। मिडियाहरूले पनि उत्तेजक र आवेगात्मक समाचारहरूलाई बढावा दिनुको साटो सत्य, तथ्य र समाजलाई जोड्ने सामग्रीहरूलाई प्राथमिकता दिनुपर्छ। नागरिक समाजले पनि समाजमा भड्किने साम्प्रदायिक वा आवेगात्मक लहरहरूलाई शान्त पार्न तार्किक र बौद्धिक बहसहरू सञ्चालन गरिरहनुपर्छ।

निष्कर्षमा, मानव इतिहास र राजनीति केवल बाहिरी घटनाहरूको सङ्गालो मात्र होइन, यो त मानव मस्तिष्कको भित्री उतार-चढावको प्रतिबिम्ब पनि हो। नेपाल जस्तो तीव्र परिवर्तनशील समाजमा यस अव्यक्त मनोविज्ञानको सही बुझाइले नेतृत्वलाई अझ बढी परिपक्व र नागरिक-मैत्री बन्न सघाउ पुऱ्याउँछ। आवेग र उत्तेजनाको राजनीतिले क्षणिक रूपमा व्यवस्था परिवर्तन त गर्न सक्ला, तर दिगो लोकतन्त्र र समृद्धिका लागि अन्ततः विवेक, तर्क र कानुनी शासन नै सर्वोपरि हुनुपर्छ। त्यसैले, युवाहरूको आन्तरिक आक्रोशलाई रचनात्मक र राष्ट्र निर्माणको कार्यमा मोड्नु नै आजको राज्यको प्रमुख दायित्व र बुद्धिमानी हुनेछ।

(लेखक नेपाली सेनाका पूर्व सैनिक अधिकृत र राजनीतिशास्त्रका अध्येता हुन्।)

प्रकाशित मिति: १४ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com