काठमाडौं । प्रतिनिधिसभाले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। उक्त प्रस्तावलाई बहुमतले अनुमोदन गरेपछि सभामुखले विधेयक पारित भएको घोषणा गरेका हुन्।
विधेयक पारित हुनुअघि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरूमाथि दफावार छलफल गरिएको थियो। छलफलपछि संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्दै विधेयकलाई अन्ततः प्रतिनिधिसभाले बहुमतका आधारमा पारित गरेको हो।
यसअघि संसद्को अधिवेशन नरहेको समयमा सरकारले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेको थियो। सोही अध्यादेशलाई प्रतिस्थापन गर्ने उद्देश्यसहित सरकारले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक संसद्मा दर्ता गरेको थियो, जुन अब प्रतिनिधिसभाबाट पारित भएको छ।
प्रकाशित मिति: १८ असार २०८३, बिहिबार













प्रतिक्रिया