काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी र संसदीय गतिविधिलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजाने अभियानअन्तर्गत ‘PulseRSP’ नामक नयाँ प्रणाली सञ्चालनमा ल्याउने भएको छ। यस प्रणालीमार्फत सांसदहरूको गतिविधि अभिलेखीकरण, नागरिकसँगको सम्पर्क र कार्यसम्पादन मूल्यांकनसमेत डिजिटल माध्यमबाट गरिनेछ।
रास्वपा संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार नयाँ प्रणालीबारे जानकारी गराउन तथा साइबर सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्न शुक्रबार बिहान १०:३० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बोलाइएको छ। बैठकमा पार्टीका सभापति रवि लामिछानेको पनि उपस्थिति रहनेछ।
बैठकपछि प्रतिनिधिसभाका सबै सांसदले आफ्ना संसदीय तथा सार्वजनिक गतिविधि अनिवार्य रूपमा ‘PulseRSP’ प्रणालीमा अद्यावधिक (अपडेट) गर्नुपर्ने व्यवस्था गरिएको बुर्लाकोटीले जानकारी दिए।
उनका अनुसार सांसदहरूबीच भेटघाटका लागि अनलाइनमार्फत समय तय गर्न सकिनेछ। साथै, संसद्मा उठाउने विषय, निर्वाचन क्षेत्रका भ्रमण, जनभेटघाट तथा अन्य गतिविधिको विवरण पनि यही प्रणालीमा अभिलेख गर्नुपर्नेछ।
नयाँ प्रणालीमा नागरिकले आफ्ना निर्वाचन क्षेत्रका सांसदलाई प्रत्यक्ष रूपमा गुनासा, सुझाव वा समस्या दर्ता गर्न सक्ने सुविधा पनि रहनेछ। ती गुनासाको अवस्थाबारे ट्र्याकिङ गर्न सकिने र त्यसका आधारमा सांसदहरूको कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था समेत प्रणालीमा समावेश गरिएको रास्वपाले जनाएको छ।
रास्वपाका अनुसार ‘PulseRSP’ ले पार्टीभित्र पारदर्शिता, जवाफदेहिता, डिजिटल अभिलेखीकरण र जनप्रतिनिधि–नागरिक सम्बन्धलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १८ असार २०८३, बिहिबार












प्रतिक्रिया