काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार आत्मदाहको प्रयास गर्ने युवक पेसाले राइड–सेयरिङ (पठाओ) चालक रहेको खुलेको छ। प्रारम्भिक प्रहरी अनुसन्धानअनुसार काठमाडौं महानगरपालिकाको नगर प्रहरीले उनको मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि उत्पन्न विवाद र तनावका बीच उनले आफ्नै शरीरमा आगो लगाएका हुन्।
प्रहरीका अनुसार आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपाली हुन्।
बिहीबार दिउँसो करिब १:४५ बजे काठमाडौं महानगरपालिका–११ स्थित राहदानी विभागको गेट नम्बर–३ अगाडि उनले आफूले प्रयोग गरिरहेको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएपछि आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार नगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखिएको भन्दै त्यसमा ‘ह्वील लक’ लगाएको थियो। त्यसपछि भएको विवादका क्रममा नेपाली आवेशमा आएर मोटरसाइकलबाट पेट्रोल निकालेर आत्मदाहको प्रयास गरेको प्रारम्भिक तथ्य फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थलमा खटिएको प्रहरी टोलीले तत्काल आगो नियन्त्रणमा लिई नेपालीको उद्धार गरेको थियो। उनलाई उपचारका लागि वीर अस्पताल पुर्याइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार नेपालीको शरीरका विभिन्न भाग जलेका छन् र उनको अवस्था गम्भीर छ। यद्यपि, उनी सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको वास्तविक कारण र सम्पूर्ण परिस्थितिबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार











प्रतिक्रिया