काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागको गेटअगाडि मोटरसाइकलमा ह्वील लक लगाएपछि एक २५ वर्षीय युवकले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका छन्। गम्भीर घाइते उनको वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
नगरप्रहरीका अनुसार मुगुको सोरु गाउँपालिका–१ घर भई भक्तपुर बस्दै आएका गणेश नेपालीले बिहान करिब ११:३० बजे राहदानी विभागको गेटअगाडि मोटरसाइकल पार्किङ गरेका थिए। जथाभाबी पार्किङ गरेको भन्दै नगरप्रहरीले मोटरसाइकलमा ह्वील लक लगाएको थियो।
नगरप्रहरी प्रमुख विष्णुप्रसाद जोशीका अनुसार ह्वील लक लगाएपछि ती युवकले केहीबेर असन्तुष्टि जनाए पनि मोटरसाइकल छाडेर करिब दुई घण्टा बेपत्ता भएका थिए। त्यसपछि फर्किएर उनले मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याउँदै आगो लगाएका थिए।
जोशीले घटनाप्रति दुःख व्यक्त गर्दै नगरप्रहरीले कानुन कार्यान्वयनका क्रममा नियमित प्रक्रिया अपनाएको बताए। उनका अनुसार दैनिक सयौँ सवारीमा ह्वील लक लगाइने भए पनि यस्तो घटना हुने कल्पना गरिएको थिएन।
उनले आत्मदाह प्रयासको कारण ह्वील लक मात्रै हो भन्ने निष्कर्षमा पुग्न नसकिने भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार













प्रतिक्रिया