काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको परिवारले उनको शव बुझ्न अस्वीकार गरेको छ।
परिवारले सरकारले गणेशकी श्रीमती र सानी छोरीको भविष्य तथा जीविकोपार्जनको जिम्मेवारी औपचारिक रूपमा नलिएसम्म शव नबुझ्ने अडान लिएको हो।
गणेशका भतिज मन नेपालीले परिवारको आर्थिक आधार नै गणेश भएकाले उनको निधनपछि श्रीमती र छोरीको भविष्य अन्योलमा परेको बताए। उनले सरकारले परिवारको जिम्मेवारी लिने स्पष्ट प्रतिबद्धता जनाएपछि मात्रै शव बुझ्ने बताए।
उनले सरकारबाट कुनै ठोस निर्णय नआए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिए। आवश्यक परे माइतीघर मण्डलालगायतका स्थानमा आन्दोलन गर्ने तयारी रहेको उनको भनाइ छ।
गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको प्रवेशद्वार नजिक आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार काठमाडौं महानगरपालिकाको नगर प्रहरीले निषेधित क्षेत्रमा पार्किङ गरेको भन्दै उनको मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि उत्पन्न विवादका क्रममा उनले आत्मदाहको प्रयास गरेका थिए।
गम्भीर घाइते भएका उनको वीर अस्पतालको बर्न युनिटमा उपचार भइरहेको थियो। उपचारकै क्रममा शुक्रबार उनको मृत्यु भएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार













प्रतिक्रिया