काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै वर्तमान सरकार आशाको केन्द्र बन्न नसकी त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै शर्माले गणेश नेपालीको घटनालाई नागरिकमा बढ्दो निराशा र असन्तुष्टिको प्रतिनिधि उदाहरणका रूपमा चित्रण गरेका छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै समाजमा आशा र विश्वास किन निर्माण हुन नसकेको भन्ने विषयमा गम्भीर समीक्षा गर्न आग्रह गरेका छन्।

शर्माले लेखेका छन्, “गणेश नेपालीको आत्मदाह नागरिकको गहिरिँदो निराशाको प्रतिनिधि घटना हो। पुराना नेतृत्व गएर नयाँ नेतृत्व आए पनि समाजमा आशाको वातावरण किन बन्न सकेन ? प्रधानमन्त्रीज्यू, यो विषयलाई अत्यन्त गम्भीरतापूर्वक आत्मसात् गर्न आवश्यक छ। समाजमा आशा मर्छ भने राज्यप्रतिको विश्वास पनि जीवित रहँदैन।”

उनले केही वर्षअघि व्यवसायी प्रेम आचार्यको आत्मदाहको घटनाको स्मरण गर्दै त्यतिबेला पनि राज्यले नागरिकलाई जीवनप्रति आशावादी बनाउन नसकेको उल्लेख गरेका छन्। अहिले छोटो अवधिमै फेरि यस्तै प्रकृतिको घटना दोहोरिनुले गम्भीर प्रश्न उठाएको उनको भनाइ छ।

शर्माले सरकारका समर्थक र नेतृत्वलाई लक्षित गर्दै, ‘सबै ठीकठाक भइरहेको छ भन्ने दाबी गरिरहँदा यस्ता पीडादायी घटना किन भइरहेका छन् ? सरकार आशाको होइन, त्रासको प्रतीक किन बन्दै गएको छ ?’ भन्ने प्रश्न पनि उठाएका छन्।

उनले गणेश नेपालीको घटनालाई राजनीतिक आरोप–प्रत्यारोपभन्दा माथि उठेर नागरिकमा बढ्दो निराशा, राज्यप्रतिको विश्वास र सुशासनको अवस्थाबारे गम्भीर आत्ममूल्याङ्कन गर्ने अवसरका रूपमा लिनुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com