काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको मृत्युबारे प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिँदै सरकारको भूमिका बचाउ गरेका छन्। उनले उपचारमा कुनै कमी हुन नदिएको दाबी गर्दै आलोचना गर्ने सांसदहरूलाई नै प्रतिप्रश्न गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री गुरुङले भने, ‘गणेश नेपाली अस्पतालमा उपचाररत रहँदा यहाँबाट प्रश्न उठाउने माननीयज्यूहरू हिजो अस्पतालमा कति जना पुग्नुभएको थियो ?’

उनले गणेश नेपालीको उपचारमा सरकारले तत्काल आवश्यक पहल गरेको र वीर अस्पतालमै पुगेर उपचारमा कुनै अभाव हुन नदिन निर्देशन दिएको बताए। अवस्था गम्भीर भएकाले उनलाई सुरक्षित रूपमा विदेश उपचारका लागि पठाउने विषयमा रातभर पहल गरिएको पनि उनले जानकारी दिए।

‘भारतमा उपचारका लागि लैजान हामीले हरसम्भव प्रयास गर्‍यौं। तर चिकित्सकहरूको सल्लाह र स्वास्थ्य अवस्थाको मूल्याङ्कनपछि उहाँलाई बाहिर नलैजाने निर्णय भएको हो,’ गृहमन्त्रीले स्पष्ट पारे।

परिवारलाई आवश्यक सहयोग र सान्त्वना कसरी उपलब्ध गराउने भन्ने विषयमा गृह मन्त्रालयमा छलफल भइरहेको उल्लेख गर्दै उनले जनताको सेवा भाषणबाट नभई व्यवहारबाट हुने बताए।

‘मुखले बोलेर जनताको सेवा हुँदैन। फिल्डमा पुगेर काम गर्नुपर्छ। मलाई स्टन्टबाजी गर्ने रहर छैन, देशको सेवा गर्न आएको हुँ,’ उनले भने।

घटनालाई लिएर सरकारमाथि मात्र दोषारोपण गर्न खोजिएको भन्दै गृहमन्त्री गुरुङले घटनाको जिम्मेवारीसँग सम्बन्धित निकायको भूमिकाबारे पनि प्रश्न उठाए। उनले ह्वील लक ट्राफिक प्रहरीले नभई काठमाडौं महानगरपालिकाको नगर प्रहरीले लगाएको स्मरण गराउँदै स्थानीय र प्रदेश सरकारको जिम्मेवारीबारे पनि बहस हुनुपर्ने बताए।

‘सरकार तीन तहको हुन्छ। घटना भएको स्थानमा ह्वील लक ट्राफिक प्रहरीले लगाएको होइन, नगर प्रहरीले लगाएको हो। स्थानीय सरकार कसको नेतृत्वमा छ ? प्रदेश सरकार कसको छ ? यी प्रश्नको पनि जवाफ खोजिनुपर्छ,’ उनले भने।

गृहमन्त्रीले कालो सिसा प्रयोगमा रोकलगायतका कानुनी व्यवस्था वर्तमान सरकारले नभई विगतमा बनेको कानुनअनुसार कार्यान्वयन गरिएको उल्लेख गर्दै ‘हामीले नयाँ कानुन बनाएका होइनौं, बनेको कानुन कार्यान्वयन गरेका हौं,’ भन्ने धारणा पनि राखे।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com