काठमाडौं। जेन–जी अभियन्ता मिराज ढुंगानाले आत्मदाह गरेका गणेश नेपालीलाई शहीद घोषणा गर्न सरकारसँग माग गर्दै ६ आधार प्रस्तुत गरेका छन्। उनले गणेशको मृत्युलाई सामान्य आत्महत्या नभई राज्यविरुद्धको विद्रोह र सामाजिक सन्देशका रूपमा व्याख्या गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ढुंगानाले गणेश नेपालीको आत्मदाहलाई राज्यका नीतिप्रति असन्तुष्टि र नागरिकको अन्तिम प्रतिरोधको प्रतीक भएको बताएका छन्। उनका अनुसार शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्नु केवल व्यक्तिगत निर्णय नभई राज्यलाई झक्झक्याउने गम्भीर सन्देश हो।
ढुंगानाले ट्राफिक जरिवानासम्बन्धी विवादास्पद व्यवस्थाविरुद्ध गणेशले अन्तिम विद्रोह गरेको दाबी गर्दै नागरिकमाथि बढ्दो आर्थिक बोझ र राज्यको असंवेदनशील नीतिका कारण यस्तो अवस्था सिर्जना भएको उल्लेख गरेका छन्।
उनले सरकारले ल्याएको विधेयक जनभावनाविपरीत रहेको दाबी गर्दै यस घटनाले राज्यलाई नीतिगत रूपमा ‘कोर्स करेक्सन’ गर्न बाध्य पार्ने विश्वास व्यक्त गरेका छन्। साथै विवादास्पद विधेयक फिर्ता लिन र गणेश नेपालीलाई शहीद घोषणा गर्नुपर्ने मागसमेत गरेका छन्।
ढुंगानाका अनुसार गणेशलाई शहीद घोषणा गरिए भविष्यमा राज्यले दण्ड, जरिवाना तथा जनजीवनसँग सम्बन्धित नीति बनाउँदा नागरिकको आर्थिक अवस्था र संवेदनशीलतालाई प्राथमिकतामा राख्ने नजिर स्थापित हुनेछ।
यद्यपि उनले सबै आत्मदाहका घटनालाई शहीदसँग जोड्न नहुने उल्लेख गर्दै राज्यको अत्याचारविरुद्ध विकल्पहीन अवस्थामा गरिएको बलिदानलाई भने सन्दर्भअनुसार मूल्याङ्कन गरिनुपर्ने धारणा राखेका छन्।
मिराज ढुंगानाले प्रस्तुत गरेका ६ आधारहरू :
१. गणेश नेपालीजीको आत्महत्या होइन, आत्मदाह हो। यी दुई शब्दमा धेरै अन्तर छ। ज्यानमा कसैले पेट्रोल छर्केर जीवन त्याग गर्छ भने, त्यो केवल जीवन त्याग मात्र होइन, सन्देश र सङ्केत पनि हो।
२. यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्ताव गरेको अत्याचार ट्राफिक जरिवानाको प्रतिरोध हो र यो देशको राज्य पुराना सरकार लाचार भएर नागरिकले भोग्नु परेको दुखःको अन्तिम आवस्था थियो।
३. नेपाली जनताको आर्थिक जीवनस्तर नचिनी, महसुस नगरी जनभावना विपरीत ल्याइएको विधेयकको प्रतिरोधको प्रतीक हो यो आत्मदाह। त्यसैले यसलाई नीतिगत रूपमा सच्याएर राज्यलाई course correction तर्फ लैजान दबाब दिने कारक बनेको छ यो आत्मदाह।
४. यो विधेयक फिर्ता लिएर सच्याई नेपाली जनतालाई ज्यानमारा जरिवानाबाट मुक्त गर्दै गणेशजीलाई शहीद घोषणा गर्नुपर्छ। यो सामान्य मृत्यु होइन, राज्यलाई course correction गर्न बाध्य पार्ने ठूलो दबाब हो।
५. गणेशजीलाई शहीद घोषणा गरेपछि एउटा नजिर बस्छ—राज्य जनताबाट पर पुगेपछि नागरिक कति हदसम्म जान तयार हुन्छन् भन्ने। साथै, गरिब देशमा जरिवाना र दण्डसम्बन्धी नीति ल्याउनुअघि राज्य थप संवेदनशील बन्ने आधार पनि तयार हुन्छ।
६. आत्मदाह गर्ने सबैलाई शहीद घोषणा गर्नुपर्छ भन्ने होइन। तर राज्यको अत्याचारको प्रतिरोधमा कुनै व्यक्तिले कुनै विकल्प नदेखेर आत्मदाह गर्छ भने, त्यसलाई सन्दर्भ हेरेर मूल्याङ्कन गर्नुपर्छ।
प्रकाशित मिति: २७ असार २०८३, शनिबार













प्रतिक्रिया