काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणमा अनुसन्धान अघि बढाउने बाटो खुलेको छ। घटनाको निष्पक्ष छानबिनको माग गर्दै उनका परिवारले प्रहरीमा औपचारिक जाहेरी दर्ता गराएका छन्।
गणेशका दाजु मदन नेपालीले प्रहरी वृत्त कालीमाटीमा जाहेरी दर्ता गराएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। परिवारको उजुरी दर्तासँगै घटनाको अनुसन्धान तथा अन्य कानुनी प्रक्रिया औपचारिक रूपमा सुरु भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको छ। साथै, शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई पत्राचार गरिएको छ। हाल गणेश नेपालीको शव शिक्षण अस्पतालमा राखिएको छ।
यसअघि आइतबार सरकार र पीडित परिवारबीच नौबुँदे सहमति भएको थियो। सहमतिअनुसार परिवारले शव बुझ्ने, पोस्टमार्टमलगायत सम्पूर्ण कानुनी प्रक्रिया अघि बढाउने र त्यसमा सरकारले आवश्यक सहजीकरण गर्ने सहमति भएको थियो।
मुगुको सोरु गाउँपालिका–१ निवासी गणेश नेपालीले असार २५ गते काठमाडौंको त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका थिए। महानगर प्रहरीसँग मोटरसाइकलमा लगाइएको ‘ह्विल लक’ हटाउने विषयमा विवाद भएपछि उनले आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा असार २६ गते वीर अस्पतालमा मृत्यु भएको थियो।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार













प्रतिक्रिया