वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिकासँगको परमाणु तथा सुरक्षा सम्बन्धी वार्ता निष्कर्षमा पुर्‍याउन पुनः दबाब दिएका छन्। उनले समयमै सम्झौता नगरे इरानले गम्भीर परिणाम सामना गर्नुपर्ने चेतावनी दिँदै देशको अवस्था अत्यन्तै खराब हुने दाबी गरेका छन्।

फक्स न्युजसँग मंगलबार प्रसारित अन्तर्वार्तामा ट्रम्पले इरानलाई लक्षित गर्दै भने, ‘उनीहरूले सम्झौता गर्नैपर्छ। यदि त्यसो भएन भने इरानमा केही पनि बाँकी रहनेछैन।’

उनले अमेरिका नागरिकको सुरक्षाप्रति पूर्ण रूपमा सचेत रहेको उल्लेख गर्दै इरानले ढिलाइ गरे त्यसको मूल्य चुकाउनुपर्ने बताए। ट्रम्पका अनुसार यही सन्देश अमेरिकी प्रतिनिधिहरूले तेहरानसँग भएको पछिल्लो संवादमार्फत पनि स्पष्ट रूपमा इरानी पक्षलाई दिएका छन्।

अन्तर्वार्ताको करिब एक घण्टाअघि मात्रै दुवै पक्षबीच संवाद भएको जानकारी दिँदै ट्रम्पले वार्ताबाट सकारात्मक परिणाम निस्कियोस् भन्ने अपेक्षा व्यक्त गरे। तर, इरानले अन्ततः सम्झौता गर्छ वा गर्दैन भन्नेबारे आफू निश्चित नभएको पनि उनले स्वीकारे।

‘उनीहरूले सम्झौता गर्नुपर्ने आवश्यकता छ। तर, उनीहरू त्यसका लागि तयार हुन्छन् कि हुँदैनन्, त्यो भने अहिले भन्न सकिँदैन,’ ट्रम्पले भने।

हाल अमेरिका–इरान सम्बन्ध तनावपूर्ण अवस्थामा रहेका बेला ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई तेहरानमाथिको थप राजनीतिक दबाबका रूपमा हेरिएको छ।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This