काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अन्तिम समयमा भारत भ्रमण स्थगित गरेका छन्। नयाँदिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन उनी भारत जाने तयारीमा थिए।

थापा शनिबार नै भारत जाने कार्यक्रम थियो। त्यसपछि भ्रमण आइतबारका लागि सारिएको थियो। तर आइतबार पनि उनी भारत नजाने भएका हुन्।

कांग्रेसको जनसम्पर्क समितिले नयाँदिल्लीमा आयोजना गरेको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन थापालाई निम्तो दिइएको थियो। कार्यक्रममा सहभागी हुने तयारी गरेका थापाले अन्तिम समयमा भ्रमण स्थगित गर्ने निर्णय गरेका हुन्।

कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति थापाको भारत भ्रमण स्थगित भएको पुष्टि गरे। भ्रमण स्थगित हुनुको कारणबारे भने उनले विस्तृत जानकारी दिएनन्।

‘नितान्त आन्तरिक र प्राविधिक कारणले गर्दा सभापतिज्यूले भारत भ्रमण स्थगित गर्नुभएको हो,’ चालिसेले भने। उनका अनुसार थापाको भारत भ्रमणको नयाँ मिति पनि अहिलेसम्म तय भएको छैन।

कांग्रेसले भ्रमण स्थगित गर्नुको औपचारिक कारण सार्वजनिक गरेको छैन। यद्यपि, पार्टीभित्र बढ्दै गएको आन्तरिक विवादलाई भ्रमण स्थगनको प्रमुख कारणका रूपमा हेरिएको छ।

विदेशमा सम्पन्न महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएपछि कांग्रेसभित्र संस्थापन र इतर पक्षबीचको विवाद थप चर्किएको छ। यही विवादका बीच सभापति थापा र इतर पक्षका नेता पूर्णबहादुर खड्का पक्षले छुट्टाछुट्टै रूपमा देशव्यापी राजनीतिक अभियान सञ्चालन गर्दै आएका छन्।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com