काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच भेटवार्ता भएको छ।
सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटवार्ता करिब एक घण्टा चलेको थियो। भेटका क्रममा समसामयिक राजनीतिक परिस्थिति, संसद्का गतिविधि तथा देशको पछिल्लो अवस्थाबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ।
आङ्देम्बेले देशका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्था, उनीहरूको उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका लागि भइरहेका प्रयासबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।
भेटका क्रममा राष्ट्रपति पौडेलले मुलुकमा राजनीतिक स्थिरताको आवश्यकता रहेको उल्लेख गर्दै संसद्लाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। उनले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा प्रभावकारी रूपमा कानुन निर्माण गर्न संसद्को भूमिका महत्वपूर्ण हुने बताएका थिए।
राष्ट्रपति पौडेलले बाढीपहिरो प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सबै पक्षबीच आवश्यक समन्वय र सहकार्य हुनुपर्नेमा समेत जोड दिएका थिए।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार













प्रतिक्रिया