काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद मनिषा झाले वर्तमान सरकारको नियतमाथि कुनै शंका नभए पनि कार्यशैलीमा सुधार आवश्यक रहेको टिप्पणी गरेकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको उद्देश्य सकारात्मक भए पनि काम गर्ने तरिका अपेक्षाअनुसार प्रभावकारी बन्न नसकेको उल्लेख गर्दै त्यसलाई खुलेर स्वीकार गर्नुपर्ने धारणा राखिन्।
‘अहिले सरकारको इमानदारी वा नियतमाथि प्रश्न छैन। उद्देश्य पनि ठीक छ। तर कतै न कतै काम गर्ने शैलीमा कमजोरी देखिएको छ। त्यो स्वीकार गरेर सुधारतर्फ अघि बढ्नुपर्छ,’ उनले भनिन्।
झाले नेतृत्वमा रहने व्यक्तिले आफूलाई थाहा नभएका विषय पहिचान गरेर सिक्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिइन्। ‘मानिसले आफूलाई के थाहा छैन भन्ने कुरा पहिले स्वीकार गर्नुपर्छ। त्यसपछि सिकेर क्षमता अभिवृद्धि गर्नुपर्छ,’ उनले भनिन्।
राज्य सञ्चालनको शैली समयानुकूल परिमार्जन हुनुपर्ने उल्लेख गर्दै उनले सुशासन र लोकतन्त्रलाई बलियो बनाउन सक्षम, शिक्षित र उत्तरदायी समाज आवश्यक पर्ने धारणा व्यक्त गरिन्।
उनका अनुसार शिक्षित समाजले मात्रै स्वस्थ राजनीति निर्माण गर्न सक्छ, स्वस्थ राजनीतिबाट लोकतन्त्र सुदृढ हुन्छ र लोकतन्त्र बलियो हुँदा मात्र सामाजिक न्याय, सन्तुलन तथा समग्र विकास सुनिश्चित हुन सक्छ।
सांसद झाले सरकारलाई आत्मसमीक्षा गर्दै कार्यशैलीमा आवश्यक सुधार गरी जनअपेक्षाअनुसार परिणाम दिन आग्रहसमेत गरिन्।
प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया