काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन शाह नेतृत्वको सरकार अपरिपक्व र दिशाहीन बनेको आरोप लगाएका छन्।

सिंहदरबारमा संसदीय मामिलाका पत्रकारहरूसँगको संवादमा प्रचण्डले वर्तमान सरकारसँग स्पष्ट दृष्टिकोण र कार्यदिशा नरहेको दाबी गर्दै यसलाई ‘कम्पास हराएको जहाज’सँग तुलना गरे।

यद्यपि, दसैं–तिहारलगत्तै सरकार ढल्ने भन्ने चर्चालाई भने उनले निराधार भएको टिप्पणी गरे। उनका अनुसार सरकारको भविष्यबारे तत्कालै निष्कर्ष निकाल्नुभन्दा यसको कार्यशैली र राजनीतिक अवस्थालाई हेर्न आवश्यक छ।

प्रचण्डले राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरूबीच व्यापक सहकार्य आवश्यक रहेको बताए। राष्ट्रिय सार्वभौमसत्ता नै संकटमा परे नागरिकका अधिकारको समेत अर्थ नरहने भन्दै उनले लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य गरेर देशलाई सही दिशामा अघि बढाउनुपर्नेमा जोड दिए।

प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमा पछिल्लो समय राजनीतिक परिपक्वता बढ्दै गएको आफूले महसुस गरेको बताए।

सामाजिक सञ्जाल र आन्दोलनबाट निर्माण भएको रास्वपाको जनाधारलाई दीर्घकालीन राजनीतिक संगठनमा रूपान्तरण गर्न भने सहज नरहेको उनको टिप्पणी छ।

उनले रास्वपाको राजनीतिक यात्रालाई समयसँगै मूल्यांकन गर्नुपर्ने बताए।

सरकारले अघि सारेको संविधान संशोधनको बहसप्रति पनि प्रचण्डले आपत्ति जनाएका छन्। संविधानको प्रस्तावना नै परिवर्तन गर्ने प्रयासलाई सामान्य संशोधनका रूपमा लिन नसकिने उनको भनाइ छ।

उनले संविधान कार्यान्वयनको अनुभवका आधारमा आवश्यक केही प्रावधान परिमार्जन गर्न सकिने भए पनि धर्मनिरपेक्षता, संघीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्वजस्ता संवैधानिक उपलब्धिलाई उल्ट्याउने प्रयास स्वीकार्य नहुने चेतावनी दिए।

‘प्रस्तावना नै परिवर्तन गर्ने प्रयास संविधान संशोधन होइन, संविधान पुनर्लेखनतर्फको कदम हो,’ प्रचण्डको भनाइ थियो।

यस्ता आधारभूत उपलब्धिलाई कमजोर बनाउने प्रयास भए त्यसलाई गम्भीर रूपमा लिनुपर्ने भन्दै उनले ‘खतराको घन्टी’ बज्ने चेतावनी दिए।

संविधान जारी भएपछि राजनीतिक दलहरू दीर्घकालीन राजनीतिक एजेन्डाभन्दा सरकार बनाउने र गिराउने तथा सत्ता केन्द्रित गतिविधिमा बढी अल्झिएको प्रचण्डले स्वीकार गरे।

उनले विगतका कमजोरीको समीक्षा गर्दै दलहरूले आफ्नो राजनीतिक कार्यशैली सुधार्नुपर्ने बताए।

अबको राजनीतिक प्रतिस्पर्धा परम्परागत सडक आन्दोलन र आमसभामा मात्र सीमित नरहेको उल्लेख गर्दै प्रचण्डले सामाजिक सञ्जाल, कृत्रिम बौद्धिकता (एआई) तथा डिजिटल प्लेटफर्मको प्रभावलाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक बुझ्नुपर्ने बताए।

उनका अनुसार डिजिटल प्रविधिले जनमत निर्माण र राजनीतिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्न थाले पनि परम्परागत दलहरू त्यसको शक्ति बुझ्न अझै ढिला गरिरहेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको सहकार्यबारे पनि प्रचण्डले समयक्रममा स्पष्ट हुँदै जाने बताए।

उनले नेपाली कांग्रेसलाई अलग गरेर राजनीतिक सहकार्य अघि बढाउने पक्षमा आफूहरू नरहेको स्पष्ट पारे। संविधान, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि आवश्यकताअनुसार व्यापक लोकतान्त्रिक सहकार्य हुनुपर्ने उनको भनाइ छ।

प्रचण्डले राष्ट्रिय एकता र लोकतान्त्रिक शक्तिहरूबीचको सहकार्यबाट मात्रै देशलाई सही दिशामा अघि बढाउन सकिने बताए।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com