काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई केवल वैकल्पिक राजनीतिक शक्तिका रूपमा सीमित नराखी देशकै ‘निर्विकल्प शक्ति’ बनाउने दिशामा अघि बढ्नुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले समाजमा तत्काल परिणाम खोज्ने प्रवृत्ति बढ्दै गएको र त्यसले राजनीतिक अस्थिरता निम्त्याउन सक्ने बताए।
उनका अनुसार ‘आजको भोलि नै परिणाम’ खोज्ने प्रवृत्तिका कारण जनतामा पटक–पटक नयाँ विकल्प खोज्ने अवस्था सिर्जना भइरहेको छ। रास्वपा भने अरूको विकल्प खोज्न नभई आफैँ भरपर्दो राजनीतिक विकल्प बन्न आएको उनको भनाइ थियो।
‘विकल्प खोज्नु मात्र समाधान होइन, आफैँमा भरपर्दो विकल्प बन्नु मुख्य कुरा हो। रास्वपा वैकल्पिक शक्ति मात्र होइन, निर्विकल्प शक्ति बन्नुपर्छ,’ लामिछानेले भने।
उनले पार्टीको सांगठनिक अवस्थाबारे आत्मसमीक्षा गर्दै जग बलियो बन्नुअघि नै संगठनको संरचना ठूलो आकारमा विस्तार भएको स्वीकार गरे। जनताको तीव्र परिवर्तनको चाहना र रास्वपाप्रतिको भरोसाका कारण पार्टीले आफ्नो सांगठनिक आधारले धान्न सक्नेभन्दा छिटो विस्तार पाएको उनको विश्लेषण थियो।
‘जग बलियो नबनाई संरचना मात्र विशाल भएर हुँदैन,’ उनले भने, ‘अब पार्टीलाई सुरक्षित र सुदृढ बनाउन जहाँ–जहाँ आवश्यक पर्छ, त्यहाँ टेको दिएर अड्याउन हामी तयार हुनुपर्छ।’
जनताले पुनः अर्को विकल्प खोज्नुपर्ने अवस्था आउन नदिने गरी पार्टीले आफ्नो कार्यशैली र जिम्मेवारीमा सुधार गर्नुपर्नेमा पनि लामिछानेले जोड दिए।
उनले जनआवाज सुन्न छाडेपछि र सही बाटोबाट विचलित भएपछि मात्र जनताले विकल्प खोज्ने भन्दै रास्वपाले त्यस्तो अवस्था आउन नदिने गरी काम गर्नुपर्ने बताए।
पार्टीलाई जगैदेखि सुदृढ र संस्थागत गर्दै जिम्मेवार ढंगले अघि बढाउने प्रतिबद्धता पनि लामिछानेले व्यक्त गरे।
प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार













प्रतिक्रिया