काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टीमा व्यापक सुधार आवश्यक रहेको निष्कर्ष निकालेको छ। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजकत्वको कार्यदलले तयार पारेको प्रतिवेदन मस्यौदामा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वशैलीमाथि प्रश्न उठाउँदै नेतृत्व हस्तान्तरणको प्रक्रिया अघि बढाउन सुझाव दिइएको छ।
कार्यदलले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पुनः लागू गर्नुपर्ने, पार्टीका कमिटीहरूको आकार कम्तीमा ४० प्रतिशतले घटाउनुपर्ने तथा ‘एक व्यक्ति एक पद’को अवधारणा कडाइका साथ लागू गर्नुपर्ने प्रस्ताव गरेको छ।
त्यस्तै, नयाँ पुस्तालाई पार्टी नेतृत्वमा ल्याउनुपर्ने, युवा तथा महिलाको सहभागिता बढाउनुपर्ने र डिजिटल माध्यममा पार्टीको प्रभाव विस्तार गर्नुपर्नेमा जोड दिइएको छ। उम्मेदवार छनोटमा स्थानीय कार्यकर्ता र कमिटीलाई प्राथमिकता दिँदै प्राइमरी निर्वाचन प्रणाली अपनाउनुपर्ने सुझाव पनि प्रतिवेदनमा छ।
कार्यदलले पार्टीभित्रको गुटबन्दी, अन्तरघात, अवसरवाद र नेतृत्वको शक्ति केन्द्रित प्रवृत्तिलाई समेत समस्याका रूपमा औँल्याएको छ। साथै, जनताको बहुदलीय जनवादको समयसापेक्ष व्याख्या र पार्टीको वैचारिक धारलाई थप स्पष्ट बनाउनुपर्ने सुझाव दिइएको छ।
यद्यपि, उक्त प्रतिवेदन हाल मस्यौदा चरणमै रहेकाले कार्यदलको बैठकबाट अन्तिम रूप दिन बाँकी छ।
प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया