काठमाडौं । पूर्वराप्रपा नेता रवीन्द्र मिश्रले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्रबाट आफूले भोगेको कारबाहीप्रति अझै कुण्ठा र प्रतिशोधको भावना राखिरहेको टिप्पणी गरेका छन्।
मिश्रले सामाजिक सञ्जालमार्फत देउवालाई सम्बोधन गर्दै विगतका राजनीतिक घटनाबाट उत्पन्न आक्रोश र प्रतिशोधभन्दा माथि उठ्न आग्रह गरेका हुन्। उनले बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले राजतन्त्रबाट पीडा भोगे पनि मुलुकको हितका लागि राजसंस्थालाई पूर्ण रूपमा अस्वीकार नगरेको उल्लेख गरेका छन्।
मिश्रले देउवामा समेत चरम कुण्ठा र प्रतिशोधको भाव देखिनु आफूका लागि आश्चर्यको विषय भएको बताएका छन्। उनले देउवालाई ‘प्रचण्डपथ’ छाडेर ‘बीपीपथ’मा फर्किन आग्रह गर्दै त्यसो नगरे कांग्रेससँगै देशको भविष्यसमेत जोखिममा पर्ने चेतावनी दिएका छन्।
‘तपाईं जस्तो मान्छेमा समेत चरम कुण्ठा र प्रतिशोधको भाव देखेर म छक्क परेको छु,’ मिश्रले लेखेका छन्, ‘प्रतिशोधको भाव त्यागेर प्रचण्डपथबाट बीपीपथमा फर्किनुस्। नत्र कांग्रेस र देश दुवैको भविष्य खतरामा छ।’
मिश्रले आफ्नो राजनीतिक जीवनमा आफू पनि ५० दिन हिरासतमा परेको प्रसंग उल्लेख गरेका छन्। आफूले भोगेका घटनाका आधारमा प्रतिशोधको भावना राख्न सकिने भए पनि त्यस्तो भावनालाई राजनीतिक निर्णय र दृष्टिकोणमा हाबी हुन दिन नहुने उनको भनाइ छ।
उनले नेपालमा राजसंस्था कायम रहेको भए गत भदौ २४ गते देउवा दम्पतीमाथि कुटपिटको अवस्था सिर्जना नहुने र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टरमार्फत भाग्नुपर्ने परिस्थिति पनि नआउने दाबी गरेका छन्।
यसअघि शनिबार पनि मिश्रले देउवा विस्तारै ‘प्रचण्डपथ’बाट ‘बीपीपथ’तर्फ फर्किन थालेको संकेत देखिएको बताएका थिए। देउवाले लिखित भाषणमा बीपी कोइराला र राष्ट्रिय मेलमिलापको चर्चा गरेको तथा भाषणपछि आफू ‘संवैधानिक राजसंस्था’ र ‘प्रजातन्त्र मान्ने राजसंस्था’को पक्षमा रहेको धारणा राखेको विषयलाई मिश्रले सकारात्मक संकेतका रूपमा व्याख्या गरेका थिए।
प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार












प्रतिक्रिया