काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विमानस्थलमा आफूलाई पटक–पटक गरिने सुरक्षा जाँचप्रति असन्तुष्टि जनाउँदै आपत्ति प्रकट गरेका छन् ।
इलाममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले विमानस्थलमा मेटल डिटेक्टर प्रयोग गरेर पटक–पटक शरीर खानतलासी गर्ने गरिएको भन्दै यस्तो व्यवहारप्रति आक्रोश व्यक्त गरेका हुन् ।
आफूलाई अपराधीको जस्तो व्यवहार गरिएको गुनासो गर्दै ओलीले विमानस्थलमा एकपटक जाँच गरिसकेपछि पनि विभिन्न स्थानमा पुनः जाँच गर्ने गरिएको बताए ।
‘मेटल डिटेक्टर लगाएको छ, यो गर्यो, उ गर्यो । के निकाल्न खोजेको ? के बरामद गर्न खोजेको ?’ ओलीले प्रश्न गरे ।
उनले काठमाडौं, भद्रपुरलगायत विमानस्थलमा आफूलाई पटक–पटक मेटल डिटेक्टर लगाउने र शरीर छामछुम गर्ने गरिएको बताए । एउटै यात्राका क्रममा विभिन्न चरणमा दोहोर्याएर जाँच गरिँदा आफूलाई असहज लागेको उनको भनाइ थियो ।
‘पल्टाई–पल्टाई छाम्छ, के भेटिन्छ भनेर हो । सबै ठाउँमा छाम्छ । के छामेको हो यिनले मेरो शरीरमा ?’ ओलीले भने ।
सुरक्षा जाँचको शैलीप्रति व्यंग्य गर्दै उनले आफू कुनै प्रतिबन्धित पदार्थ बोकेको व्यक्ति नभएको जिकिर गरे ।
‘म न गँजडी, न जड्याहा, न ड्रगिस्ट । के खोजेको हो ? न मसँग १९० तोला सुन छ, न कतै लुकाएको केही छ,’ उनले भने, ‘एक ठाउँ जाँचेपछि पुग्नुपर्ने हो, फेरि अर्को ठाउँमा जाँच गर्छ । तमासा !’
विमानस्थलमा यात्रुको शरीरमा पटक–पटक सुरक्षा जाँच गरिए पनि सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको ओलीको आरोप थियो ।
‘ट्रकका ट्रक तस्करी सीमाबाट भएको रहेछ । एयरपोर्टमा चाहिँ मेरो शरीरमा डिटेक्टर लगाउँछन्,’ उनले भने, ‘गेटबाट छिराउँछ, फेरि डिटेक्टर लगाउँछ, त्यति गर्दा पनि नपुगेर छाम्छ । मालिस गर्न थालेको हो कि के गरेको हो ?’
ओलीले विमानस्थलमा गरिएको सुरक्षा जाँचप्रति सार्वजनिक रूपमा आपत्ति जनाएको यो दोस्रोपटक हो । यसअघि गत माघमा पनि उनले आफूलाई सुन तस्करजस्तो व्यवहार गरिएको भन्दै विमानस्थलको सुरक्षा जाँचप्रति असन्तुष्टि जनाएका थिए ।
प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार













प्रतिक्रिया