काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका–९ का स्थानीयवासीले निर्वाचनका क्रममा आफूले गरेका प्रतिबद्धता पूरा गर्न गृहमन्त्री तथा गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुधन गुरुङसँग माग गरेका छन्। स्थानीयले चुनावका बेला वाचा गरिएको ल्याब निर्माणका लागि बजेट विनियोजन नभएको विषय उठाएपछि मन्त्री गुरुङले चार महिनामै सबै कामको प्रतिफल खोज्न नहुने बताएका छन्।
मतदातासँगको भेटघाटका क्रममा उनले आफूले तत्कालै क्षेत्रको ‘कायापलट’ गर्न नसक्ने भन्दै विश्वास गर्न नसक्ने भए ‘भोट फिर्ता लैजान’ समेत आग्रह गरेका छन्। गुरुङको यही अभिव्यक्तिको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
गुरुङको पूर्वघोषित कार्यक्रमअनुसार उनी हरेक महिना गृहजिल्ला पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आएका छन्। यही क्रममा शनिबार भीमसेन थापा गाउँपालिका र आइतबार शहीद लखन गाउँपालिकाका स्थानीयसँग उनले भेटघाट गरेका थिए।
आइतबार साँझ शहीद लखन गाउँपालिका–९ का स्थानीयसँगको भेटमा वडाध्यक्ष रामकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सचिव खोपेन्द्र लामिछानेसहित स्थानीयको सहभागिता थियो।
भेटका क्रममा रास्वपा वडा सचिव लामिछानेले चुनावका बेला गाउँ आउँदा गुरुङले ल्याब सञ्चालनका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाएको स्मरण गराए। उनले त्यसबेला मन्त्रालयका सचिवलाई समेत फोन गरेर आगामी बजेटमा आवश्यक व्यवस्था गर्ने आश्वासन दिएको भन्दै बजेटमा उक्त योजना नदेखिएको गुनासो गरे।
स्थानीयको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले विभिन्न साना–साना योजनाका लागि छुट्टाछुट्टै बजेट समेट्न कठिन हुने बताएका थिए। उनले आवश्यक योजनाको सूची माग गरिएको र त्यसैका आधारमा प्राथमिकता निर्धारण गरिने बताए।
स्थानीयले भने आफूहरूलाई तत्काल काम चाहिएको भन्दै चुनावका बेला गरिएको प्रतिबद्धता कार्यान्वयन गर्न दबाब दिएका थिए। त्यसक्रममा एक स्थानीयले गाउँलेहरू निकै आक्रोशित भएको भन्दै मन्त्री गुरुङलाई प्रश्न गरे।
जवाफमा गुरुङले सरकारको पहिलो बजेट आएको केही समय मात्रै भएको उल्लेख गर्दै चार महिनामै सबै कुरा परिवर्तन गर्न नसकिने बताए।
‘चार महिनामा अहिले बल्ल पहिलो बजेट आएको छ। चार महिनामै कायापलट गर्न म सक्दिनँ, भोट लिएर जानुस्,’ उनले भने।
उनको उक्त अभिव्यक्तिपछि कार्यक्रममा सहभागीहरू हाँसेका थिए। एक स्थानीयले चुनाव जिताएर पठाइसकेपछि यस्तो कुरा पहिले नै भन्नुपर्ने भन्दै टिप्पणी गरे।
त्यसपछि गुरुङले आफूले मतदातासँग स्पष्ट रूपमा कुरा गर्दै आएको दाबी गरे। आफूलाई विश्वास गर्न नसक्ने भए नजिताउन र पाँच वर्षको कार्यकाल हेर्न आग्रह गर्दै उनले आफूले काम गरेर देखाउने प्रतिबद्धता दोहोर्याए।
‘म स्पष्ट मान्छे हुँ। मलाई तपाईंहरूले विश्वास गर्न सक्नुहुन्न भने नजिताउनुस्। मलाई पाँच वर्ष हेर्नुस्,’ गुरुङले भने।
उनले आफू गृहमन्त्री बनेको चार महिना मात्रै भएको र काम गर्ने समय अझै बाँकी रहेको भन्दै तत्कालै सबै माग पूरा गर्न सम्भव नहुने बताए। ‘चार महिनामा बल्ल १५–२० दिनजति मात्रै कामको समय भएको छ। अहिले चाहियो भन्दैमा सबै कुरा पाइन्छ ?’ भन्दै उनले स्थानीयलाई प्रतिप्रश्न गरे।
प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार













प्रतिक्रिया