काठमाडौं । प्रतिनिधिसभामा हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि भदौ १० गतेको समय निर्धारण गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भदौ १० गते सञ्चालन हुने जानकारी दिएका हुन्।
प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्री तथा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्ने व्यवस्था छ। नियमावलीअनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा सांसदले प्रश्न गर्न पाउने गरी प्रत्येक महिनाको पहिलो हप्ताको एक दिन बैठकको पहिलो एक घण्टा प्रश्नोत्तरका लागि छुट्याउने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार सभामुख अर्यालले भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने समय तोकेका हुन्।
प्रत्यक्ष प्रश्नोत्तरका क्रममा संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट कम्तीमा एक सांसदको प्रश्न समावेश गरिने सभामुखले जानकारी दिए। त्यसबाहेक प्रतिनिधिसभामा दलहरूको प्रतिनिधित्वका आधारमा थप प्रश्न छनोट गरिने र बढीमा १५ वटा प्रश्न सोध्न सकिने व्यवस्था रहेको उनले बताए।
प्रश्न सोध्न इच्छुक सांसदले आफ्नो प्रश्न भदौ ५ गते शुक्रबार दिउँसो १ बजेसम्म प्रतिनिधिसभाका सचिवसमक्ष लिखित रूपमा बुझाउनुपर्नेछ। सभामुख अर्यालले सांसदहरूलाई प्रश्न छोटो, स्पष्ट र विषयकेन्द्रित बनाउनसमेत आग्रह गरेका छन्।
यसअघि सोमबारकै बैठकबाट सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधिसभामा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन निर्देशन दिएका थिए।
प्रतिनिधिसभा नियमावलीको दफा ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्था छ। प्रतिपक्षी दलहरूले उक्त व्यवस्था कार्यान्वयन गर्न पटक–पटक माग गर्दै आए पनि यसअघि विभिन्न कारणले नियमित रूपमा सञ्चालन हुन सकेको थिएन।
सोमबारको बैठकमै सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई विपक्षी दलहरूले उठाएको सीमा सम्बन्धी विषयमा सदनमा जवाफ दिनसमेत रुलिङ गरेका थिए।
प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार













प्रतिक्रिया