काठमाडौं । सत्ता नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नै सञ्चार माध्यमका रूपमा मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने भएको छ।

शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकले आगामी असोजदेखि ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णय गरेको हो। पत्रिकाको सम्पादकीय तथा व्यवस्थापन टोलीबारे भने पार्टीले हालसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

पार्टी सभापति रवि लामिछानेले सहकारी ठगीसम्बन्धी मुद्दामा जेलमा रहँदा तथा त्यसअघि र पछि पनि नेपाली सञ्चारमाध्यमप्रति असन्तुष्टि व्यक्त गर्दै आएका थिए। उनले आफूलाई अधिकांश मिडियाले अपेक्षित सहयोग नगरेको गुनासो गर्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए।

रास्वपाले आफ्नै विचार, गतिविधि र राजनीतिक दृष्टिकोणलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने उद्देश्यले डिजिटल पत्रिका प्रकाशन गर्न लागेको बताइएको छ।

शुक्रबारको केन्द्रीय समिति बैठकले पत्रिका प्रकाशन गर्ने निर्णयसँगै पार्टी संगठनसम्बन्धी अन्य महत्वपूर्ण निर्णयसमेत गरेको छ। बैठकले विभिन्न विभागका प्रमुख तोक्नुका साथै सचिवालयमा सदस्य थप गर्ने र नयाँ केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको छ।

‘स्वतन्त्र’ डिजिटल पत्रिकामार्फत पार्टीका गतिविधि, नीति, विचार तथा समसामयिक राजनीतिक विषयलाई नियमित रूपमा सार्वजनिक गर्ने तयारी रास्वपाको छ।

प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com