काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग आफ्नो कुनै व्यक्तिगत विवाद नरहेको स्पष्ट पारेका छन्।
शुक्रबार रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सुनारले संसदीय समितिमा परेको उजुरीका आधारमा सम्बन्धित व्यक्ति तथा अधिकारीलाई बोलाएर छलफल गर्नु नियमित संसदीय प्रक्रिया भएको बताए।
उनले समितिमा अधिकारीहरूलाई बोलाएर छलफल गरिएको विषयलाई प्रहरी संगठन वा प्रहरी प्रमुखसँगको व्यक्तिगत विवादका रूपमा प्रचार गरिएको भन्दै आपत्ति जनाए।
‘संसदीय समितिमा उजुरी आएपछि सम्बन्धित व्यक्ति र अधिकारीलाई बोलाएर छलफल गर्नु सामान्य प्रक्रिया हो। यसलाई व्यक्तिगत विवादका रूपमा बुझ्न आवश्यक छैन,’ उनले भने।
सांसद सुनारले आफू र प्रहरी संगठनबीच कुनै किसिमको व्यक्तिगत द्वन्द्व नरहेको दोहोर्याउँदै सञ्चारमाध्यमले विषयलाई दुई पक्षबीचको विवादका रूपमा प्रस्तुत गर्नु उचित नभएको बताए।
रास्वपाको स्थापना नै राज्यमा व्याप्त अराजकता, बेथिति र भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नका लागि भएको उनको भनाइ थियो।
यसै क्रममा उनले बारामा भएको बालिका हत्याको घटनाप्रति पनि गम्भीर चासो व्यक्त गरे। घटनामा संलग्न दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न राज्य गम्भीर बन्नुपर्नेमा उनले जोड दिए।
उनले नागरिकको सुरक्षा र न्याय सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएकाले यस्ता गम्भीर आपराधिक घटनामा कुनै प्रकारको कमजोरी हुन नहुने बताए।
प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार













प्रतिक्रिया