काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक हस्तक्षेपविरुद्धको संघर्षलाई निरन्तरता दिन नसक्नु र कम्युनिस्ट आन्दोलनको वर्गीय आधार, मूल विचार तथा रणनीतिबाट विचलित हुनुका कारण मुलुक अहिले असाधारण संकटमा पुगेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट आन्दोलन सत्ता, राजनीतिक समीकरण र निर्वाचनको जोडघटाउमा बढी केन्द्रित हुँदा आफ्नो रणनीतिक लक्ष्यबाट टाढिएको बताएका हुन्।
उनका अनुसार आफूहरू प्रधानमन्त्री बन्ने, सरकार गठनका लागि समीकरण बनाउने–भत्काउने, मन्त्री बन्ने तथा निर्वाचन जित्ने विषयलाई प्राथमिकतामा राखेर अघि बढे। तर, विरोधी शक्तिहरू भने नेपालमा बढिरहेको कम्युनिस्ट प्रभावलाई रणनीतिक रूपमा कमजोर पार्ने योजनामा निरन्तर केन्द्रित भइरहे।
प्रचण्डले अहिले मुलुकले भोगिरहेको असाधारण संकट विगतका कमजोरीकै परिणाम भएको बताए।
‘अहिले हामीले जे असाधारण संकट भोग्नुपरेको छ, त्यो भोग्नुपर्ने थिएन। यदि हामीले अमेरिकालाई पनि जित्यौँ, अरूलाई पनि जित्यौँ, नेपाली जनता विजयी भयो भनेर खाली प्रधानमन्त्री बन्ने, समीकरण बनाउने–भत्काउने, मन्त्री बन्ने र चुनाव जित्नेतिर मात्रै केन्द्रित भयौँ,’ उनले भने।
आफूहरू सत्ताको जोडघटाउमा अल्झिरहेका बेला विरोधी शक्तिहरूले भने नेपालबाट कम्युनिस्ट आन्दोलनलाई रणनीतिक रूपमा समाप्त पार्ने उद्देश्यसहित काम गरिरहेको प्रचण्डको दाबी छ।
‘जबकि हाम्रो विरोधी चाहिँ नेपालबाट कम्युनिस्टहरू जसरी बढेका छन्, यसलाई रणनीतिक रूपमा सिध्याउनुपर्छ भन्नेमा केन्द्रित भएर उनीहरू लागिरहेकै थिए,’ उनले भने।
प्रचण्डले विरोधी शक्तिको यही रणनीतिक सक्रियताको ‘भयानक अभिव्यक्ति’ गत वर्ष भदौ २४ गते देखिएको दाबी गरे। पछिल्लो राजनीतिक परिस्थितिलाई उनले विगतमा भएका राजनीतिक कमजोरी, वैदेशिक हस्तक्षेप तथा कम्युनिस्ट आन्दोलन आफ्नो मूल विचार र रणनीतिबाट विचलित भएको अवस्थासँग जोडेर व्याख्या गरे।
उनले आगामी दिनमा कम्युनिस्ट आन्दोलनले आफ्नो वर्गीय आधार, मूल विचार र दीर्घकालीन रणनीतिलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने संकेतसमेत गरे।
प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार













प्रतिक्रिया