काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विगत ३५ वर्षको राजनीतिक हिसाब–किताबमा अल्झिनुभन्दा अबको ३५ वर्षका लागि स्पष्ट योजना बनाएर अघि बढ्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।

आइतबार ‘पार्टीको नीति, संगठन र नेतृत्व’ विषयक कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले विगतका कमजोरीको आलोचनामै समय खर्च नगरी आगामी पुस्ता र देशको भविष्यलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका हुन्।

‘अब बितेका ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथीहरू, अबको ३५ वर्षको योजना ल्याउनुस्,’ लामिछानेले भने।

उनले विगतमा भएका कामलाई लिएर निरन्तर आलोचना गरिरहनुको सट्टा अबको जिम्मेवारीमा केन्द्रित हुनुपर्ने बताए। ‘अब बितेको ३५ वर्षका लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ। जति सके गरे, धन्यवाद,’ उनले भने।

लामिछानेले केही गर्न नसक्ने अवस्था आए पनि कम्तीमा गलत काम नगर्ने प्रतिबद्धताका साथ अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे।

उनले अबको ३५ वर्षमा मुलुकलाई कुन दिशामा अघि बढाउने भन्ने जिम्मेवारी रास्वपाको काँधमा आएको दाबी गरे। आमनागरिकले पार्टीमाथि ठूलो विश्वास गरेको उल्लेख गर्दै उनले जनताको विश्वासलाई कुनै पनि अवस्थामा कमजोर हुन नदिन नेता–कार्यकर्तालाई सचेत गराए।

लामिछानेले पार्टीका नेता–कार्यकर्तालाई लोकतन्त्रविरोधी गतिविधि र अभिव्यक्तिबाट टाढा रहन पनि निर्देशन दिएका छन्।

पार्टीका नेता–कार्यकर्ताका अभिव्यक्ति र गतिविधिले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने अवस्था आउन नहुने उनको भनाइ छ।

‘हाम्रा अभिव्यक्ति, क्रियाकलापले लोकतन्त्रलाई कमजोर बनाउने काम नगरोस्। म यहाँहरूसँग अनुरोध गर्न आएको छु,’ उनले भने।

कहिलेकाहीँ आफ्नै परिवारका सदस्यलाई समेत सम्झाउनुपर्ने अवस्था आउने भन्दै उनले आफूले असन्तुष्टिका कारण नभई पार्टी र नेता–कार्यकर्ताप्रति चिन्ता व्यक्त गरेको स्पष्ट पारे।

लामिछानेले अहिले सरकार मात्र नभई प्रतिपक्ष पनि बलियो रहेको बताए। त्यसैले पार्टीका गतिविधि र भूमिकालाई अझ जिम्मेवार बनाउँदै अघि बढ्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com