काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकारप्रति जनताको विश्वास र भरोसा क्रमशः कमजोर बन्दै गएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले पछिल्ला घटनाक्रमले समाजमा अराजकता र अस्थिरता बढ्दै गएको संकेत गरेको दाबी गरे। उनले देशका विभिन्न स्थानमा भइरहेका घटना र आन्दोलनलाई सरकारको प्रभावकारितासँग जोडेर गम्भीर समीक्षा गर्नुपर्ने बताए।
उनले बारा र सप्तरीमा भएका पछिल्ला घटनालाई मात्र आधार बनाएर परिस्थितिको मूल्यांकन गर्न नहुने उल्लेख गर्दै सरकार गठन भएयता विभिन्न क्षेत्रमा समस्या दोहोरिँदै आएको बताए।
‘हाम्रो समाज कता गइरहेको छ ? बारा र सप्तरीका दुईवटा घटनालाई मात्रै हेरेर पुग्दैन,’ सिंहले भने, ‘सरकार बनेदेखि कप्तानगन्जको घटना, धार्मिक तथा सामाजिक सद्भावको विषय, मिटरब्याज पीडित, लघुवित्त पीडित र चिकित्सकका समस्यालगायतका विषय निरन्तर देखिँदै आएका छन्। यसले दिनप्रतिदिन सरकारको प्रभाव र जनतामा रहेको विश्वास घट्दै गएको देखाउँछ।’
उनले अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार तथा विभिन्न माग राखेर हुने आन्दोलनका कारण सर्वसाधारणले निरन्तर दुःख पाइरहेको बताए।
सामाजिक बेथिति बढ्दै जाँदा राज्य र नागरिकबीचको विश्वास कमजोर हुने र त्यसको परिणामस्वरूप अपराधसमेत बढ्न सक्ने उनको भनाइ छ।
‘जब समाजमा बेथिति बढ्छ, जब विश्वास र भरोसा उठ्छ, त्यस्तो समाजमा अपराध बढ्छ,’ सिंहले भने, ‘यस विषयमा गम्भीर र सार्थक छलफल आवश्यक छ।’
उनले पछिल्ला घटनाक्रमलाई सामान्य रूपमा नलिई सरकार र सम्बन्धित निकायले समाजमा बढिरहेको असन्तुष्टि तथा असुरक्षाको कारण पहिचान गरी समाधानतर्फ प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार













प्रतिक्रिया