काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
मंगलबार बिहान काठमाडौँ महानगरपालिका–१० स्थित पुरानो संसद् भवननजिकै ड्युटीमा रहेकी महिला प्रहरीलाई जुम्लाको तातोपानी घर भएका २७ वर्षीय राज कठायतले आक्रमण गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार घटनामा संलग्न कठायतलाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार सडक पार गर्न खोजिरहेका कठायतलाई महिला प्रहरीले नजिकै आकाशे पुल रहेकाले त्यहीँबाट बाटो काट्न आग्रह गरेकी थिइन्। ‘जहाँ पायो त्यहीँबाट बाटो काट्दा दुर्घटना हुन सक्छ, आकाशे पुलबाट जानुस्’ भनेर सम्झाउँदा कठायतले प्रहरीसँग विवाद गर्दै एक्कासि आक्रमण गरेको बताइएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार घटनालगत्तै पिक आवरको ड्युटीमा खटिएका ट्राफिक प्रहरीको सहयोगमा कठायतलाई नियन्त्रणमा लिइएको हो।
घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार













प्रतिक्रिया