काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकालाई सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरीको टोलीले शुक्रबार साँझ करिब ६ः१५ बजे उद्धार गरेको हो ।

“टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो । त्यसक्रममा माटोमुनि पुरिएको अवस्थामा बालिकालाई फेला पारेर उद्धार गरिएको हो,” सशस्त्रले जनाएको छ ।

सीमा सुरक्षा चौकी (बीओपी) टिमुरेबाट सप्रनिको कमाण्डमा खटिएको ६ जनाको टोलीले बालिकालाई उद्धार गरी चौकीमा ल्याएको हो । उद्धारका क्रममा बालिका गम्भीर अवस्थामा रहेकी र अचेत अवस्थामा फेला परेको सशस्त्रले जनाएको छ ।

चौकीमा ल्याएपछि बालिकालाई न्यानो बनाएर राखिएको छ । उनको अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गर्ने पहल भइरहेको सशस्त्रले जनाएको छ । तर, रातिको समय भएकाले तत्काल हेलिकोप्टर उडान सम्भव हुन नसकेको बताइएको छ ।

माटोमुनिबाट बालिकाको रोएको आवाज सुनेर समयमै उद्धार गर्न सफल हुनुले उद्धार टोलीको सतर्कता र खोजी कार्यको महत्त्व झनै देखाएको छ ।

बाढी–पहिरो प्रभावित टिमुरे क्षेत्रमा सुरक्षाकर्मीहरूले जोखिमका बीच खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।

प्रकाशित मिति: १३ भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com