मन्थली । बाढीपीडितको उद्धार तथा राहतका लागि स्थापना गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा भ्रम फैलाउँदै ठगी गरेको आरोपमा रामेछाप प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान कार्की रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कार्कीले आफूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १ लाख २० हजार सहयोग गरेको दाबी गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। तर, प्रहरी अनुसन्धानबाट उनले उक्त रकम कोषमा जम्मा नगरेको खुलेको छ।

प्रहरीका अनुसार कार्कीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गरी ई–सेवाको नक्कली ट्रान्जेक्सन स्टेटमेन्ट तयार पारेका थिए। उक्त नक्कली स्टेटमेन्ट सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले राहत कोषमा सहयोग गर्न आह्वान गरेका थिए।

त्यस क्रममा उनले राहत कोषको खाताजस्तो देखिने गरी आफ्नै व्यक्तिगत क्यूआर कोडसमेत पोस्ट गरेको प्रहरीले जनाएको छ। राहत कोषमा रकम पठाएको ठानेर सर्वसाधारणले उनको व्यक्तिगत खातामा पैसा पठाउन सक्ने जोखिम देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले कार्कीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको जानकारी दिए।

प्रहरीले विपद्का बेला राहत तथा उद्धारका नाममा सामाजिक सञ्जालमा फैलाइने सूचना र आर्थिक सहयोगसम्बन्धी विवरणको आधिकारिकता पुष्टि गरेर मात्रै रकम पठाउन आग्रह गरेको छ।

प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com