डडेल्धुरा । डडेल्धुरा जिल्ला खेलकुद समिति र डडेल्धुरा जिल्ला क्रिकेट संघका प्रतिनिधिहरूले जिल्लाको आगामी खेलकुद गतिविधि तथा खेलकुद क्षेत्रको विकासका विषयमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीलाई जानकारी गराउँदै ज्ञापनपत्र बुझाएका छन्।
प्रतिनिधिमण्डलले डडेल्धुरा जिल्लामा आगामी दिनमा सञ्चालन गर्नुपर्ने विभिन्न खेलकुद गतिविधि, प्रतियोगिता तथा प्रशिक्षणका कार्यक्रमबारे मुख्यमन्त्रीलाई जानकारी गराएको हो। साथै, जिल्लाको खेलकुद पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा प्रतियोगिता सञ्चालनका लागि आवश्यक सहयोग र सहकार्य गर्न प्रदेश सरकारसमक्ष आग्रह गरिएको छ।
ज्ञापनपत्रमार्फत डडेल्धुराको क्रिकेटलगायत समग्र खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारको प्राथमिकता र आवश्यक बजेट व्यवस्थापनमा समेत ध्यान दिन आग्रह गरिएको बताइएको छ।
डडेल्धुरा जिल्ला खेलकुद समिति तथा जिल्ला क्रिकेट संघका प्रतिनिधिहरूले खेलकुदमार्फत जिल्लाका प्रतिभावान् खेलाडीलाई अवसर प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जिल्लाको पहिचान स्थापित गर्न आवश्यक पहल भइरहेको जानकारी गराएका छन्।
प्रतिनिधिहरूले प्रदेश सरकार र स्थानीय खेलकुद निकायबीच प्रभावकारी समन्वय र सहकार्य हुन सके डडेल्धुराको खेलकुद क्षेत्रले थप गति लिने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार











प्रतिक्रिया