काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिको मारमा परेका नागरिकलाई होच्याउने र उनीहरूको पीडामाथि असंवेदनशील टिप्पणी गर्ने अन्धसमर्थक पार्टीलाई आवश्यक नभएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै लामिछानेले रास्वपालाई दुःख, शोक र पीडामा रहेका आम नागरिकको पक्षमा उभिने तथा उनीहरूको आँसु पुछ्ने सदस्य र कार्यकर्ता चाहिएको स्पष्ट पारे।

उनले नागरिकको आक्रोश र पीडालाई गलत ढंगले व्याख्या गर्ने, सामाजिक सञ्जालमार्फत प्रतिउत्तर दिँदै पीडितमाथि आक्रमण गर्ने तथा साइबर बुलिङ गर्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाए।

‘नागरिकको आक्रोश र चित्कारलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन,’ लामिछानेले भने।

विपद्को पीडा भोगिरहेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ वा अपमानजनक टिप्पणी गर्ने रास्वपाका सदस्य तथा पदाधिकारीमाथि कडा कारबाही गरिने उनले चेतावनी दिए।

‘यदि रास्वपाको कुनै पनि तहका सदस्य वा पदाधिकारीले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्छन् भने उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालिनेछ,’ उनले भने।

लामिछानेले राजनीतिक दलप्रतिको समर्थनका नाममा मानवीय संवेदनालाई बेवास्ता गर्न नहुने उल्लेख गर्दै विपत्तिको समयमा पीडित नागरिकप्रति सहानुभूति, सहयोग र जिम्मेवारीपूर्ण व्यवहार आवश्यक रहेको बताए।

उनले पार्टीका सदस्य तथा समर्थकलाई नागरिकको पीडामा मलम लगाउने भूमिका निर्वाह गर्न आग्रह गर्दै विपद्पीडितलाई होच्याउने प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे।

प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com