काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नीतिमा भण्डारीले रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका शिक्षक द्वारिकाप्रसाद दंगालकी श्रीमतीलाई श्रीमान्को रिक्त शिक्षक पदमा नियुक्त गर्न सरकारसँग माग गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भण्डारीले सर्लाहीको हरिपुर–७, चिताइनस्थित श्री लक्ष्मीनाथ जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक दंगाल भोटेकोशी बाढीपछि बेपत्ता रहेको र हालसम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको बताइन् ।

दंगाल परिवारको मुख्य आम्दानीको स्रोत शिक्षकको जागिर रहेको उल्लेख गर्दै उनले दंगाल बेपत्ता भएपछि परिवार आर्थिक संकटमा परेको बताइन् । दंगालकी श्रीमती मन्दिरा अधिकारी दंगाल स्थानीय निजी विद्यालयमा अध्यापनरत रहेको जानकारी दिँदै भण्डारीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर उनलाई श्रीमान्को रिक्त पदमा नियुक्त गर्ने व्यवस्था मिलाउन आग्रह गरिन् ।

भोटेकोशी बाढीमा दंगालजस्तै विभिन्न पेसामा आबद्ध धेरै व्यक्ति बेपत्ता भएको र उनीहरू जीवितै फर्किने सम्भावना न्यून हुँदै गएको भन्दै सांसद भण्डारीले पीडित परिवारलाई राज्यले विशेष रूपमा सम्बोधन गर्नुपर्ने बताइन् ।

‘द्वारिकाप्रसाद दंगाल बेपत्ता भएपछि रिक्त भएको शिक्षक पदमा प्रचलित कानुन र आवश्यक प्रक्रिया पूरा गरी उहाँकी श्रीमतीलाई नियुक्त गर्ने विशेष व्यवस्था गरियोस्,’ उनले भनिन्, ‘यसले विपत्तिमा परेका परिवारप्रति राज्यको साथ र संवेदनशीलता देखाउनेछ ।’

उनले विपद्मा मृत्यु भएका तथा बेपत्ता व्यक्तिका परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर र सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने गरी विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।

विपद्पीडित परिवारलाई राज्य उनीहरूको साथमा रहेको भरोसा दिलाउन रोजगारी तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रम ल्याउनुपर्ने भन्दै उनले यसको सुरुआत दंगाल परिवारबाटै गर्न सरकारसँग आग्रह गरिन् ।

प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com