काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका राजनीतिक सल्लाहकार मोहम्मद बाकिर जोल्कदरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सत्तामा रहुञ्जेल होर्मुज जलडमरू नखोल्ने चेतावनी दिएका छन् ।
इरानी समाचार एजेन्सीहरूका अनुसार जोल्कदरले इरानले ‘आक्रामक शत्रुको शक्ति तोड्ने’ निर्णय गरेको दाबी गर्दै होर्मुज बन्द राख्नु बदलाको कारबाहीको पहिलो चरण भएको बताएका छन् ।
बीबीसी पर्सियनका अनुसार ट्रम्पले इरानसँग युद्ध वा वार्ताबारे फरक–फरक धारणा सार्वजनिक गरिरहेका बेला इरानभित्र पनि सैन्य टकराव जारी राख्ने वा वार्तामा जाने विषयमा मतभेद बढेको छ ।
राष्ट्रपति मसुद पेजेस्कियान र संसद्का सभामुख मोहम्मद बाकर गालिबाफसहित केही शीर्ष नेताले युद्ध अन्त्यका लागि वार्ताको बाटो अपनाउनुपर्ने धारणा राखेका छन् । तर इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका सैनिक तथा कमान्डरसहित कट्टरपन्थी समूहले युद्ध जारी राख्नु र होर्मुज बन्द गर्नु प्रभावकारी रणनीति भएको बताउँदै आएका छन् ।
बढ्दो महँगी, आर्थिक प्रतिबन्ध र दक्षिणी बन्दरगाहमा जारी नौसैनिक नाकाबन्दीका कारण इरानी नागरिकको दैनिक जीवन थप कठिन बनेको छ । अन्तर्राष्ट्रिय मुद्राको तुलनामा इरानी रियालको मूल्यमा आएको गिरावटले आर्थिक दबाब झनै बढाएको छ ।
प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया