३६ वर्षको उमेरमा पुग्दा विवाह भएको पनि ९ वर्ष बितिसकेछ। समाजमा परिचय दिने क्रममा बारम्बार एउटै प्रश्न दोहोरिन्छ, “घर कता हो नि?” म सहज रूपमा बाल्खुको कुमारी क्लब भन्छु। तर मेरो उत्तर पूरा हुन नपाउँदै अर्को प्रश्न तेर्सिन्छ, “माइतीचाहि कता?” म सरस्वतीनगर भन्दै सरल जवाफ त दिन्छु, तर मनभित्र एउटा गम्भीर प्रश्न उब्जिन्छ – “किन माइतीचाहि?” विवाहअघि जुन घरमा बाल्यकाल बित्यो, जहाँ आमाबुवा र दाजुभाइसँग हाँसेको, रोएको, रिसाएको र मिलेको अनेकौ सम्झनाहरू जोडिएका छन्, त्यो घर आखिर मेरो किन भएन? त्यो घर केवल चार पर्खाल नभई मेरो बाल्यकाल, परिवार र मेरो आफ्नै एउटा पूर्ण संसार थियो।
विवाहपछि अचानक त्यही जन्मघरको पहिचान फेरिएर “माइती” बन्न पुग्छ अनि मलाई भनिन्छ, “अब तिम्रो घर उता हो।” त्यो “उता” भनेको एउटा पूर्ण रूपमा नयाँ र नौलो संसार हुन्छ। नयाँ घर, नयाँ परिवार, नयाँ सम्बन्ध र फरक तौरतरिका। एउटी छोरीले त्यहाँ पुगेपछि अनेकौ नयाँ कुराहरू सिक्नुपर्छ। कहिलेकाही त आफ्नै घरमा सामान्य मान्दै आएको सानो बानीसमेत नयाँ घरमा फरक र अनौठो ठहरिन्छ। जन्मघरमा आमाले वर्षौदेखि सिकाएको तरकारी पकाउने तरिका होस् वा घरमा चप्पल प्याट-प्याट पार्दै हिड्नु, आफ्नै सुरमा बोल्नु अनि खुलेर हाँस्नु नै किन नहोस्, ती सबै सानातिना व्यवहारलाई नयाँ घरका सदस्यहरूले फरक दृष्टिकोणले हेर्न सक्छन्।
यस्ता साना-साना व्यावहारिक भिन्नताहरूबाट एउटी छोरीले बिस्तारै समाजको गहिरो यथार्थ बुझ्न थाल्छिन्। नयाँ घरमा घुलमिल हुनु भनेको नयाँ मानिसहरूसँग परिचय बनाउनु मात्र होइन रहेछ, बरु आफूले वर्षौदेखि सहज रूपमा गर्दै आएका धेरै बानी-व्यवहारहरूलाई परिवर्तन गर्नु र नयाँ तरिकाले सिक्नु पनि रहेछ। कसरी बोल्ने, कसरी व्यवहार गर्ने, कहाँ आफ्नो कुरा राख्ने, कुन कुरा सहजै भन्न सकिन्छ र कुन कुरा सोचेर मात्र भन्नुपर्छ भन्ने जस्ता संवेदनशील पक्षहरू उसले विस्तारै सिक्दै जानुपर्छ। आफ्ना भावना र सोचहरूलाई परिस्थिती अनुसार ढाल्दै लैजानु एउटी बुहारीका लागि प्रारम्भिक चरणको सबैभन्दा ठूलो र कठिन चुनौती बन्न पुग्छ।
यदि श्रीमान् र आफूले कमाएर आफ्नै मिहिनेतमा बनाएको घर भएको भए सायद अवस्था केही फरक हुन सक्थ्यो होला। तर नेपालको विद्यमान सामाजिक सन्दर्भमा धेरैजसो बुहारीहरू विवाहपछि सासू-ससुराले वर्षौको मेहनत, पसिना र कडा संघर्षले खडा गरेको घरमा भित्रिन्छन्। त्यसैले त्यो घरप्रति सासू-ससुराको विशेष अपनत्व, लामो अनुभव र निर्णायक अधिकार हुनु एकदमै स्वाभाविक कुरा हो, र त्यसको पूर्ण सम्मान हुनैपर्छ। तर त्यही घरमा नयाँ सदस्यका रूपमा आएकी बुहारीको पनि आफ्नै वैचारिक अस्तित्व, इच्छा र सोच हुन्छ। घरपरिवारका विविध विषयमा आफ्नो धारणा राख्न पाउनु र आफ्ना इच्छाहरू व्यक्त गर्न पाउनु उसको पनि नैसर्गिक अधिकार हो।
तर व्यावहारिक जीवनमा धेरै बुहारीहरूका लागि आफ्ना विचारहरू खुला रूपमा राख्नु त्यति सहज र सरल हुँदैन। आफूलाई ठीक नलागेको वा चित्त नबुझेको कुरा पनि स्पष्टसँग भन्नुअघि धेरैपटक सोच्नुपर्ने बाध्यता हुन्छ। कतै कसैलाई नराम्रो लाग्ला कि, आफूलाई गलत बुझ्लान् कि वा घरको सुमधुर सम्बन्धमा आँच आउला कि भन्ने डरले सधै सताइरहन्छ। यही डरका कारण बिस्तारै आफ्ना मनका असन्तुष्टि र भावनाहरूलाई भित्रभित्रै दबाएर राख्ने बानी बस्छ। सायद यहीबाट नयाँ घर आफ्नै नभएको एउटा सूक्ष्म अनुभूति सुरु हुन्छ, किनकि घर हुनु भनेको केवल बस्न पाउनु मात्र होइन, आफ्ना कुरा निर्धक्क भन्न पाउनु पनि हो।
घर आफ्नै हुनुको वास्तविक अर्थ केवल त्यहाँ बसोबास गर्ने अधिकार पाउनु वा ओत लाग्नु मात्र पक्कै होइन। आफ्ना कुराहरू बिनासंकोच निर्धक्कसँग राख्न पाउनु, पारिवारिक निर्णयहरूमा आफ्नो आवाज निष्पक्ष रूपमा सुनिनु र आफूलाई परिवारको एउटा समान एवं महत्त्वपूर्ण सदस्यका रूपमा स्वीकार गरिएको गहिरो महसुस हुनु नै घर हुनु हो। अर्कोतर्फ, विवाहपछि छोरीलाई जन्मघरबाट पूर्ण रूपमा “पराइ” बनाइदिने परिपाटी पनि हाम्रो समाजमा अझै कायमै छ। विवाहले ठेगाना र थर परिवर्तन गरिदिन सक्छ, तर जन्मदिने आमाबुवासँगको पवित्र सम्बन्ध र त्यो घरसँग जोडिएका वर्षौका असीम सम्झनाहरू भने कहिल्यै बदलिदैनन्।
विडम्बनाको कुरा के छ भने, विवाहपछि धेरै छोरीहरूलाई आफ्नै जन्मघरका महत्त्वपूर्ण निर्णय र अधिकारहरूबाट पनि बिस्तारै टाढा धकेल्न थालिन्छ। “घरको ठूलो निर्णय त छोराले नै गर्ने हो”, “बिहे गरेर गइसकेकी छोरीले सम्पत्तिमा दाबी गर्नु हुँदैन”, “धेरै दिन यता नबस, घरकाले के भन्लान्” वा “यता आउँदा पनि उताका मानिसलाई सोधेर मात्र आउनू” जस्ता भनाइहरूले छोरीलाई आफ्नै जन्मघरसँगको अपनत्वबाट टाढा पुर्याउँछन्। जन्मघरका सदस्यहरूको यस्तो व्यवहारले विवाह भइसकेकी छोरीलाई आफ्नै आमाबुवाको घरमा पाहुना बनाइदिन्छ र उसलाई आफ्नो वास्तविक पहिचान र अधिकार खोसिएको महसुस गराउँछ।
सामाजिक परम्परा र धार्मिक संस्कारहरूमा पनि विवाहित छोरीप्रति गरिने विभेद प्रस्टै देख्न सकिन्छ। बुवा-आमाको मृत्यु हुँदा गरिने किरिया वा अन्य संस्कारहरूमा विवाहित छोरीका लागि बेग्लै र कमजोर मान्यताहरू बनाइएका छन्। “छोरीले धेरै दिन नुन बारेर बस्नु हुँदैन” वा “छोरीले यसरी किरिया गर्नु हुँदैन” भन्ने जस्ता नियमहरूले छोरीलाई कमजोर तुल्याउँछन्। जबकि त्यही संस्कारमा छोराले भने लामो समयसम्म नियमपूर्वक किरिया बस्नुपर्ने बाध्यता रहन्छ। यस्ता सामाजिक मान्यताहरूले एउटै गम्भीर प्रश्न खडा गर्छन् – विवाह भएकै भरमा एउटी छोरी आफ्नै जन्मदिने आमाबुवाको जीवन र मृत्यु दुवैको दायित्वबाट यसरी कसरी टाढा हुन सक्छे?
एकातिर सासू-ससुराले वर्षौको मिहिनेत र संघर्षले बनाएको घर हुन्छ, जहाँ एउटी बुहारी विवाहपछि आएर बिस्तारै आफ्नो अस्तित्व र ठाउँ खोजिरहेकी हुन्छे। अर्कोतिर, जुन घरमा ऊ जन्मिई, हुर्किई र जीवनका सबैभन्दा महत्त्वपूर्ण बाल्यकालका वर्षहरू बिताई, त्यही घरबाट पनि विस्तारै “अब तिम्रो घर उतै हो” भन्ने व्यवहार पाउन थाल्छे। एउटा घरमा आफ्नो ठाउँ बनाउन निरन्तर आफूलाई परिवर्तन गरिरहनुपर्ने, अनि अर्को घरमा आफ्नो पुरानो ठाउँ नरहेको महसुस हुने – यस्तो दोसाँधमा उभिएर एउटी छोरीले आखिर आफूलाई कहाँकी मान्ने? यो प्रश्नले हरेक विवाहित महिलाको हृदयलाई बारम्बार घच्घच्याइरहन्छ।
वास्तवमा घर भनेको केवल एउटा भौगोलिक ठेगाना वा चार पर्खालको संरचना मात्र होइन। घर त त्यो सुरक्षित ठाउँ हो, जहाँ आफ्नो उपस्थितिको कारण कसैलाई स्पष्टीकरण दिइरहनु पर्दैन, जहाँ फर्किदा आफूलाई कहिल्यै पाहुना जस्तो महसुस हुँदैन र जहाँ आफ्ना मनका कुरा निर्धक्क राख्दा सम्बन्ध बिग्रिएला कि भनेर डराउनुपर्दैन। जहाँ व्यक्तिलाई उसको अस्तित्व सहित सम्मान पूर्वक स्वीकार गरिन्छ, त्यही नै घरको वास्तविक अनुभूति हुन्छ। त्यसैले एउटी छोरीले जीवनभर “मेरो घर आखिर कुन हो?” भनेर भौतारिनु नपरोस्। जहाँ जन्मिई त्यहाँ पनि उसको उत्तिकै अधिकार होस् र जहाँ विवाह भई पुगी त्यहाँ पनि उसलाई आफ्नै घरको पूर्ण अनुभूति होस्।
प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार












प्रतिक्रिया